Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


रसुवामा थप दश दिन निषेधाज्ञा, उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी


0
Shares

रसुवा । रसुवामा आजबाट थप १० दिन निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले थप दश दिन निषेधाज्ञा जारी गरेको हो ।

जिल्लामा कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गइरहेकाले समुदायस्तरमा संक्रमणको दर न्युनिकरणका लागि दश दिन निषेधाज्ञा लम्ब्याइएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताउनुभयो ।

यसअघि बैसाख २६ देखि जेठ तीन गतेसम्म गरिएको निषेधाज्ञा अब जेठ १३ गते राती १२ बजे सम्म लागु हुनेछ ।

निषेधाज्ञाको समयमा खाद्य बस्तु तथा पशुपंछीका दाना, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दुग्ध डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामाग्री लगायतका अत्यावश्यक पसल व्यवसाय बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न दिइएको छ ।

औषधी एवम स्वास्थ्य सामाग्रीका पसलहरु भने २४ सै घण्टा खुल्ला रहेका छन् ।

निषेधाज्ञाको उलङ्घन गर्ने, आदेश पालना गर्ने कार्यमा अवरोध गर्ने, औषधि, औषधिजन्य सामाग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपुर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मुल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा सहज आपुर्तिमा अवरोध गर्ने गराउने कार्य गरेमा स्थानिय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने समेत जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।