
काठमाडौं । मौलिक संस्कृति र परम्परा भएका नेवारहरुले आज म्हःपूजा गर्दैछन् ।
प्रत्येक वर्ष नेपाल संवत् तिथी अनुसार कछलाथ्व पारुको साँझ नयाँ वर्षलाई स्वागत गर्दै म्हःपूजा गर्ने चलनछ ।
तर यो वर्ष तिथीमा देखिएको घटबढको कारणले एकथरीले आज र बाँकीले भोली मात्र म्हःपूजा गर्दैछन् ।
साधारणतयाः मध्यरातमा तिथिको परिवर्तन हुने गरेकोमा यो वर्ष दिउँसो तिथि फेरिएको छ ।
त्यसैले पनि बिहान एउटा र साँझ अर्को तिथि परेकोले एकथरीले आज र अर्को थरीले भोली म्हःपूजा गर्ने भएका हुन ।
भक्तपुर, ललितपुर र उपत्यका बाहिरका अधिकांस नेवार समुदायले आज म्हःपूजा गर्दैछन् भने बाँकी ठाउँमा भोली मात्र म्हःपूजा हुने छ ।
भक्तपुरमा तलेजु र ललितपुरमा क्वाःबहाःलाई आधार बनाउने नेवार समुदायले आजै म्हःपूजा गर्ने तयारी गरेका छन् ।
तर काठमाडौंको न्हूदँ समारोह समिति तथा अन्य जातीय संघसंस्थाले भोलि मात्र म्हःपूजा गर्न आग्रह गरेका छन् । शरिरलाई पूजा गरी मनाइने भएर यो परम्पराको विशेष महत्व छ ।
आआफ्नो घरमा जेष्ठताक्रम अनुसार पूर्व फर्केर ‘म्हपूजा’ गर्ने चलन छ । म्हःपूजा गर्नको लागि सबभन्दा पहिले मन्दः बनाइन्छ । पानी, तोरीको तेल, पिठो, अक्षता र कालो भटमासा प्रयोग गरेर मन्दः तयार गरिन्छ ।
मन्दमाः बिमिरो, भोगटे, सुन्तला, ओखर,स्याउ, अमला, हलुवावेद लगायतका फलफूल अनिवार्य मानिन्छ ।
म्हःपूजामा जजंका अनिवार्य रुपमा लगाइदिनुपर्छ । घरमूली महिलाले परिवारका सबै सदस्यलाई म्हःपूजा गरिदिने परम्परा छ ।
म्हःपूजा गर्नाले पापमोचन भएर रोगव्याधीको निदान हुने विश्वास गरिन्छ । दीर्घायुको कामना गरी आफैलाई पहिचान गर्न पनि म्हःपूजा गर्नुपर्ने मान्यता छ ।
मानवता प्रदर्शन गर्न दया, माया, करूणा र स्नेह जागृह गर्नको लागि पनि म्हःपूजा गर्ने परम्परा शुरु गरिएको विश्वास गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्