Logo २७ आश्विन २०८२, सोमबार | Tue Oct 14 2025


कांग्रेसले कोभिड—१९ को अवस्था बुझ्न सातै प्रदेशमा अन्तरक्रिया गर्ने


0
Shares

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसले ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा सातै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ ।

आजदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत अन्तरक्रिया गर्न लागिएको कांग्रेसले जनाएको छ ।

पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशमा भर्चुअल कार्यक्रम गर्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

यसैगरी भोलि गण्डकी र वाग्मती प्रदेशमा अन्तक्रिया हुँदैछ । त्यस्तै जेठ ४ गते प्रदेश नं. १ र २ का नेता कार्यकर्तासँग छलफल हुँदैछ ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, पालिकाका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

सबै प्रदेशको संयोजन गर्ने जिम्मा सहमहामन्त्री एवं कांग्रेसको कोभिड—१९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतलाई दिइएको छ ।