
ध्रुवसागर शर्मा/ईमेज
म्याग्दी । म्याग्दीको पश्चिममा पर्ने मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको विशाल तामाखानी अलपत्र अवस्थामा रहेको छ ।
नेपालकै उत्कृष्ट तामाखानी भए पनि सञ्चालनमा ल्याउने कुनै ठोस पहलकदमी नहुँदा संभावित लाभबाट वञ्चित हुनुपरेको हो ।
म्याग्दीको मालिका गाउँपािलका–४ ओखरबोटेको भीरमा अवस्थित विशाल तामाखानी वि.सं २००९ सालदेखि २०२८ सालसम्म नियमित संचालनमा थियो ।
त्यसपछि खानी खन्ने सुरुङमा पानी भरिएपछि प्रविधिको अभावमा बन्द भएको थियो ।
यो खानीलाई २०३० सालमा तत्कालीन राजा वीरेन्द्रले अवलोकन गरी नेपालकै उत्कृष्ट तामाखानी भएको घोषणा मात्रै गरेनन् संचालनमा ल्याउन समेत हुुकुम दिएका थिए ।
तर अहिले वर्षौँ बितिसक्दा पनि तामाखानी संचालनमा आउन सकेको छैन । जसका कारण राज्य वार्षिक करोडौं राजस्वबाट वञ्चित छ भने स्थानीयले पाउँदै आएको रोजगारी गुमेको छ ।
०२८ सालसम्म यस तामाखानीमा दैनिक २ सयभन्दा बढी कामदरले काम गर्नुका साथै प्रत्येक दिन ७/८ धार्नीसम्म तामा निकाल्ने गरिएको तत्कालीन कामदार दलबहादुर पटेल पटेलको भनाइ छ ।
तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानहरुको लम्वाई २५० देखि ५ सय मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउहरु देख्द सकिने स्थानीय दिलबहादुर घर्तीमगर बताउँछन ।
ओखरबोटे गाउँबाट २० मिनेटको पैदल दुरीमा रहेका दुई वटा तामाखानी सरकारी उपेक्षा र प्रविधिको अभावमा बन्द भएका हुन् ।
पछिल्लो एकवर्षयता तामाखानी संचालनका बारेका कुरा उठे पनि त्यसको ठोस पहलकदमी भने हुन सकेको छैन ।
आफ्नै देशका संभावित स्रोतहरुको उपयोग गरेर मात्रै मुुलुकले आर्थिक विकासमा फड्को मार्ने स्थानीय शिक्षक नवीन पुरीको धारणा छ ।
चिनियाँ प्रयोगशालामा गरिएको परीक्षणबाट निकिालिएको नतिजामा पनि यहाँको तामाखानीलाई विश्वकै उत्कृष्ट भनिएको छ ।
खानी सञ्चालनका लागि चिनियाँहरुले विशेष चासो देखाएको भनिएको छ ।
आर्थिक विकासका यस्ता अथाह सम्भावनाहरुलाई बेवास्ता गरेर समृद्ध नेपाल र सुखी नेपालीको सपना कसरी पुरा होला ?
प्रतिक्रिया दिनुहोस्