२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पाकिस्तानी राष्ट्रपति र बंगलादेशी प्रधानमन्त्रीसित प्रधानमन्त्री ओलीको भेटवार्ता


0
Shares

मनोज कार्की (रासस)

बाकु (अजरबैजान), कात्तिक ९ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच शनिार बाकु कंग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ ।

यहाँ भइरहेको असंलग्न अभियानको १८औं शिखर सम्मेलनकाक्रममा उनीहरूबीच सो भेटघाट भएको हो ।

भेटघाटमा उनीहरुबीच ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र आपसी अभिरुचिका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

दुई नेताबीच हाल अवरुद्ध भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रक्रिया र यसलाई पुनः आफ्नो मार्गमा ल्याउन नेपाल तथा बंगलादेशले संयुक्तरुपमा गर्नसक्ने कार्यका विषयमा पनि छलफल भएको थियो ।

यसैगरी, बाकु कंग्रेस केन्द्रमै प्रधानमन्त्री ओली र पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीबीच शनिबारै भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच दुईपक्षीय चासोका विषयमा छलफल भएको छ ।

हिन्दुकुश हिमालयमा मौसम परिवर्तनले पारेको नकारात्मक प्रभाव, सार्कको अवरुद्ध प्रक्रिया र दुवै मुलुकले भोगेका विद्यमान तथा उदाउँदा चुनौतीका विषयमा उनीहरुबीच छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

बैठकका समयमा नेताहरुले सार्कका सदस्य मुलुकबीच मतभेद कम गरी यसलाई पुनः सक्रिय बनाउनुपर्ने तथा क्षेत्रीय शान्तिलाई प्रवर्द्धन गर्नुपर्ने कुरामा छलफल गरेको मन्त्री ज्ञवालीले बताए ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ अजरबैजानका राष्ट्रपति तथा १८औं ‘नाम’ शिखर सम्मेलनका अध्यक्ष इल्हाम अलियभसँग शिखर बैठकका प्रतिनिधिमन्डलका नेताहरुका लागि आयोजित रात्रिभोजमा भेटवार्ता गरेको मन्त्री ज्ञवालीले बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति अलियभलाई शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेकामा धन्यवाद दिएको तथा अभियानप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताएका थिए ।

उनले आउँदा तीन वर्षमा असंलग्न अभियान सन्चालनमा अजरबैजानलाई सकेसम्म सहयोग गर्ने बचन दिएको पनि मन्त्री ज्ञवालीले उल्लेख गरे ।

पाकिस्तानका राष्ट्रपति तथा बंगलादेशका प्रधानमन्त्रीसँगको भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पनि उपस्थित थिए ।

यसैबीच, परराष्ट्रमन्त्री ज्ञवालीले जिबुटीका विदेशमन्त्री महमुद अली युसफसँग भेटवार्ता गरेका थिए ।

दुई मुलुकबीच आपसी अभिरुचिका विषयमा छलफल हुनाका साथै संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मञ्चमा आपसी मुद्दामा सहयोग गर्ने सहमति उनीहरुबीच भएको थियो ।

परराष्ट्र मन्त्रालयका सचिव वैरागी तथा संयुक्त राष्ट्रसंघका लागि नेपाली आवासीय प्रतिनिधि अमृत राई तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको उक्त बैठकमा उपस्थिति थियो ।