२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


भिटोफमा चुनावी रौनक, पाण्डे र सिंखडाको प्यानल मैदानमा


0
Shares

काठमाडौं, साउन ११ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको यही साउन १५ गते हुने निर्वाचमा अध्यक्ष पदका लागि बासुदेव पाण्डे र ध्रुव सिंखडाबीच चुनावी भिडन्त हुने भएको छ ।

दुवै उम्मेदवारले आ–आफ्नो प्यानलसहित बिहीबार मनोनयन पत्र दर्ता गरेका छन् ।

दुवैजना पूर्व नेकपा एमाले निटक व्यवसायी भए पनि पर्यटनमा पूर्व एमाले निकट व्यवसायीकै दुईवटा संगठन रहेकाले उनीहरु एक आपसमै चुनावी मैदानमा उत्रिएका हुन् । पाण्डे पूर्व एमाले निकट व्यवसायी संगठनको संस्थापन पक्षका उम्मेदवार हुन् भने सिंखडा विद्रोह गरेर निर्माण गरिएको सिताराम सापकोटाको नेतृत्वको नयाँ संगठन तर्फका उम्मेदवार हुन् ।

पाण्डेलाई पूर्व माओवादी निकट पर्यटन व्यवसायी संगठनको साथ छ भने सिंखडालाई कांग्रेस र नयाँ शक्ति निकट पर्यटन व्यवसायी संगठनको साथ छ ।

पाण्डेको प्यानलमा प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा दिपक खनाल, सचिवमा आशुतोष प्रधान, कोषाध्यक्षमा राजकुमार धमला र सह–कोषाध्यक्षमा सकुन्तला देवकोटा छन् ।

त्यसैगरी सदस्यहरुमा कर्णाली र ७ नम्बर प्रदेशको प्रतिनिधित्वको रुपमा देवीकृष्ण रोकाया छन् भने अन्य सदस्यका उम्मेदवारहरुमा जीवन थपलिया, चोपेन्द्र बहादुर खड्का र दिपक पंगेनी छन् ।

पाण्डेको प्यानलमा पूर्व संस्थापन मानिएको एमालेको भागमा अध्यक्ष र प्रथम उपाध्यक्ष सहित तीनजना सदस्य छन् भने बाँकी सबै पद पूर्व माओवादीको भागमा परेको छ ।

सिंखडाको प्यानलमा प्रथम उपाध्यक्षमा कृष्ण सुवेदी, द्वितीय उपाध्यक्षमा तारालाल धरेल र महासचिवमा जस्फा पाण्डे छन् । सचिवमा भने नवराज थापा र ईश्वर बहादुर बोगटीको उम्मेदवारी परेको छ । दुवैजना पूर्व एमाले निकट पर्यटन व्यवसायी हुन् ।

त्यस्तै कोषाध्यक्षमा कुल प्रसाद सुवेदी (केपी), सह–कोषाध्यक्षमा उमेश दनै र सदस्यहरुमा अनिल सिलवाल, राममणी रिजाल, सान्त कुमार बानिया, सन्तोष थापा र केदारमणी खनालले उम्मेदवारी दिएका छन् ।

त्रिपक्षीय भागवन्डामा पूर्व एमालेको भागमा अध्यक्ष र सचिवसहित तीन जना सदस्य, कांग्रेसको भागमा प्रथम उपाध्यक्ष, महासचिव र सह–कोषाध्यक्ष सहित दुई जना सदस्य र नयाँ शक्तिको भागमा द्वितीय उपाध्यक्ष र कोषाध्यक्ष परेका छन् । यसअघि भिटोफको आगामी अध्यक्षका दावेदार मानिएका राजकुमार थापाले दोस्रो पटक पनि सहमतिका लागि भन्दै उम्मेदवारी फिर्ता लिएका छन् । 

भिटोफ नेपालको साधारणसभाले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व छान्ने छ । भिटोफ नेपालमा अहिले ६९७ जना सदस्य छन् ।