यमपञ्चकका पाँच दिनका यस्ता छन् विशेषता • Image Khabar Image Khabar


यमपञ्चकका पाँच दिनका यस्ता छन् विशेषता


Imagekhabar
९ कार्तिक २०७६, शनिबार १८:३६

यमपञ्चकका पाँच दिनका यस्ता छन् विशेषता

प्रज्ञा तिमल्सिना र योगेश लामा (इमेज)

काठमाडौं, कात्तिक ९ । सांस्कृतिक महत्व बोकेको यमपञ्चकको निकै ठूलो धार्मिक महत्व पनि रहेको छ । यमपञ्चकका पाँच दिनले आ–आफ्नै विशेषता बोकेका छन् ।

पाँच दिनसम्म मनाइने तिहारले मानव सभ्यता र संस्कृतिको विकासक्रमलाई बुझाउँछ । काग तिहारबाट सुरु हुने तिहार भाइटीका गरेर समापन गरिन्छ ।

कागले मानिसको घुमन्ते जीवनलाई बुझाउँछ भने कुकुर तिहारले सिकारी जीवन । गाईतिहारले पशुपालन । गोरु तिहारले कृषिकर्म र तिहारको अन्तिम दिन मनाइने भाइटीकाले सुसभ्य र सु–संस्कृत नैतिकवान् मानव जीवन दर्शाउँछ ।

शास्त्रीय भाषामा भने यसलाई यमपञ्चक पनि भनिन्छ । पौराणिक कथनअनुसार सूर्यकी पुत्री यमुनाले आफ्नो दाजु यमराजलाई कात्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्ल पक्षको द्वितियासम्म घरमा राखी विभिन्न कन्दमूल र फलफूल खुवाएर प्रसन्न पारी आफ्नो मनोकामना पूरा गरेको स्मरणस्वरूप पाँच दिनसम्म यो चाड मनाइँदै आएको भन्ने भनाइ छ ।

यी पाँच दिन दिदी–बहिनी र दाजु–भाइबीच आपसी सद्भाव बढोस् र कहिले विछोड नहोस् भन्ने मान्यताका साथ तिहार पर्व मनाउने गरिएको संस्कृतिविद् डा. चिन्तामणि योगीले बताए ।

तिहारले मावन सभ्यताको विकासक्रमलाई पनि बुझाउछ । १०० ओटा शरद ऋतु देख्न र बाँच्न सकौं भन्दै शरद ऋतुमा नै तिहार मनाइने गरेको संस्कृतिविद्हरुको भनाइ छ ।

कागजस्तो चलाख बन्नु, कुकुरजस्तो इमान्दार र रक्षक बन्नु भन्ने मान्यताका साथ काग र कुकुरलाई पूजा गरिन्छ भने गाईलाई भगवान् लक्ष्मीकोरुपमा पुजिन्छ । गोरुलाई भगवान् शिवको वहान मानिन्छ ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजाका लागि म्हःपूजा गरिन्छ ।

सूर्यको उपासना र शौर्यशक्ति बढोस् भनेर भाइटीकाका दिन सप्तरंगी टीका लगाउने गरिएको शास्त्रीय मान्यता छ ।

ज्ञानको गति बढोस् र त्रि–नेत्र खुलाउन सहयोग पुगोस्, दाजु–भाइको जीवन बेरङ नहोस् भन्ने कामनाले तिहारको दिन ठाडो सप्तरंगी टीका लगाउने गरिएको संस्कृतिविद् डा. योगीले बताए ।

दाजु–भाइको जीवनमा सुख, शान्ति कायम होस् भन्ने मान्यताका साथ तिहारमा मखमली र सयपत्रीको माला लगाउने प्रचलन रहेको छ ।

तिहारमा सेलरोटी पकाउने र खाने चलनको पनि छुट्टै विशेषता छ । सेलरोटीको बास्नाले पितृ र देवी–देवता खुसी हुने विश्वास गरिन्छ ।

जुम्लाका तत्कालीन बलि राजाले आफ्ना देवदास र देवदासीलाई देउसी–भैलो खेल्नू भनेर दिएको आदेशका कारण तिहारमा देउसी–भैलो खेलिने प्रचलन रहेको संस्कृतिविद्हरु बताउँछन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्