एक मधेस एक प्रदेश हुन सक्दैन : गच्छदार • Image Khabar Image Khabar


एक मधेस एक प्रदेश हुन सक्दैन : गच्छदार


Imagekhabar
९ कार्तिक २०७६, शनिबार १५:२६

एक मधेस एक प्रदेश हुन सक्दैन : गच्छदार

ललितपुर, कात्तिक ९ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले देश ‘एक मधेस एक प्रदेश’मा जान नहुने बताएका छन् ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली कांग्रेसबाट गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभदीपावली, नेपाल संवत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा शनिबार आयोजित ‘शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा’ कांग्रेसका उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताए ।

उनले भने–‘मभन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेस हो । मधेसभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।’

थारु र जनजातिको हकहितका लागि लडेको मान्छे समग्र मुलुकको हितमा लड्नुपर्छ भनी कांग्रेसमा लागिपरेको उपसभापति गच्छदारको भनाइ थियो ।

उनले भने–‘यस पार्टीमा रहेर महँगी र भ्रष्टाचारलगायतका कुरा नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गर्दैछु ।’

गत चुनावमा नेपाली कांग्रेसले हार व्यहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उनले जानकारी दिए ।

गच्छदारले युवापुस्ताले पुरानो पुस्ताको कदर गर्दै उनीहरुको योगदानलाई बिर्सनु नहुने बताए । देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छदारको भनाइ थियो ।

गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गरे ।

ललितपुर कांग्रेस सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले देशमा मनाइने चाडपर्वले सबै मानिसको कामना पूरा गरोस् भन्ने शुभकामना व्यक्त गरे ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सबै नगरवासीको साथमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो नगरपालिकाका उपप्रमुख मुना अधिकारीले नेपाली कांग्रेसको जागरण अभियानले मुलुकमा ऊर्जा भरेको दाबी गरिन् । रासस

प्रतिक्रिया दिनुहोस्