२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सडक बालबालिकाको उद्धार र चुनौती


0
Shares

गृष्मा राजभण्डारी/राममान डंगोल र सानु माली (इमेज)

काठमाडौं, कात्तिक ८ । दैनिक लाखौं मानिस ओहोर–दोहोर गर्ने काठमाडौं उपत्यकाका सडक । सबैजना आ–आफ्नै चटारोमा । अलिक चनाखो भएर हेर्ने हो भने यी सडकमा कहालीलाग्दा दृष्य पनि देखिन्छन् ।

माग्न बसेका कलिला बालबालिका, ‘ड्रग्स’को पोको बोकेर ग्राहक पर्खंदै गरेका किशोर–किशोरी अनि साँझपख खुलेयाम चल्ने यौन व्यवसाय । सडक आममानिसले सोचेभन्दा धेरै फरक छ ।

राजधानीका विभिन्न क्षेत्रका सडकमा बालबालिका र किशोर–किशोरीहरु लागुऔषध प्रयोग गर्ने र यौन व्यवसायमा संलग्न भेटिएको तथ्य अब नौलो रहेन ।

यस्ता बालबालिका र किशोर–किशोरीलाई पछिल्लो समय राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले सडकबाट उद्धार गरिरहेको छ । रातभर पनि चल्ने यो ‘अपरेसन’मा हाम्रो टोली पनि सहभागी छ ।

काठमाडौंमा सडकमा माग्न बसेका अधिकांश बालबालिका भारतीय मूलका नै देखिन्छन् ।

यो अभियकाक्रममा हालसम्म सयौं बालबालिका र किशोर–किशोरीहरुलाई उद्धार गरिएको छ । जसका कारण बालश्रममा लागेका बालबालिका र किशोर–किशोरीहरुको संख्या कम हुन थालेको छ ।

उनीहरुलाई नियन्त्रणमा लिँदा जोखिम मोल्नुपर्ने बाध्यता त छँदैछ त्यसमाथि व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण रहेको बालबालिका खोजतलास समन्वय केन्द्रका कार्यक्रम अधिकृत सन्तोष अधिकारी बताउँछन् ।

अधिकांश भारतीय मूलका महिलाहरु आफ्ना कलिला छोरा–छोरीहरुलाई माग्न लगाउने र केही ठूलालाई भने श्रममा लगाउने गरेको पाइयो । जब उद्धार गर्ने प्रयास हुन्छ अनि उनीहरु डरले रोइ–कराइ गर्छन् ।

उद्धारकाक्रममा केही बालबालिकाको साथबाट गाँजा पनि बरामद गरिएको थियो । केही किशोरीहरुलाई यौनधन्दाका लागि मोलमोलाइ गर्दागर्दै पनि नियन्त्रणमा लिइएको थियो । त्यसक्रममा उनीहरुले प्रहरीलाई तथानाम गाली पनि गर्छन् ।

पछिल्लो समय खोजतलास केन्द्रका प्रहरी देख्नेवित्तिकै अवैध क्रियाकलापमा संलग्न बालबालिका र किशोर–किशोरीहरु भाग्न थालेका छन् । केही भने चुपचाप प्रहरीसँगै आउने गर्छन् ।

नियन्त्रणमा लिइएका बालश्रमिकहरुमा अधिकांशको अभिभावक नभएको भेटियो । केहीका अभिभावक पनि छन् ।

नियन्त्रणमा लिइएकामध्ये कतिपयका अविभावक आफ्ना बालबालिका लिन खोजतलास केन्द्र पुग्ने गरेका छन् ।

तर, भारतीय मूलका बालबालिकाको हकमा भने केही समस्या भएको र यसका लागि सरकारीस्तरबाटै कदम चाल्नुपर्ने कार्यक्रम अधिकृतको अधिकारीको भनाइ छ ।

बालबालिका उद्धार समूहले राजधानीका ठमेल, रत्नपार्क, कलंकी, सातदोबाटो, पशुपति, स्वयम्भू, बसपार्कका विभिन्न स्थानमा छापा मारेको थियो ।

नियन्त्रणमा लिइएकाहरुलाई कम्तीमा ६ महिनासम्म पुनःस्थापना केन्द्रमा राखी विभिन्न सीपमूलक तालिम दिइने गरेको छ ।

तालिमपछि पनि केही बालबालिका पुनः सडकमै फर्कंदा यो अभियानलाई केही चुनौती थपिएको छ । तर, उद्धार टोलीको यो प्रयासले सडक बालबालिकाको संख्यामा भने उल्लेख्य कमी आएको छ ।

भिडियो हेर्नुहोस्