
काठमाडौं, कात्तिक ७ । सरकारले संविधानलाई स्वीकार गर्दै हिंसात्मक गतिविधि त्यागे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग वार्ता गर्नसकिने स्पस्ट पारेको छ ।
सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटले संविधानले राजनीतिक, आर्थिक, सामाजिकलगायत अधिकारको सुनिश्चित गरेको भन्दै उक्त समूहलाई संविधानलाई आत्मसात गरी हिंसा छोडेर वार्तामा आउन आग्रह गरे ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आफ्नै मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने–‘हामी (सरकार) स्पस्टरूपमा भन्छौं, ‘संविधान मान, हिंसा छोड, पूरै खेल खत्तम !’ सर्त त्यही माने भइगो नि ! अरु सर्तै चाहिँदैन । वक्तव्य जारी गरेर यसैगरी हामीले ‘हिंसा छोड्यौं, शान्ति रोज्यौं’ भने पुग्छ ।’
चन्द समूहले पछिल्लो समय केही सर्त सरकारले मानेको खन्डमा वार्तामा आउने संकेत गरेको सन्दर्भमा सन्चारकर्मीले राखेको जिज्ञासामा सन्चारमन्त्री बाँस्कोटाले सरकारको धारणा स्पस्ट पारेका हुन् ।
‘अहिलेको संविधानले दिएको सबैखाले अधिकारको ‘फ्रेमवर्क’भित्र आएर हिंसा छोड्छौं भनेपछि न त प्रतिबन्ध लगाउनुपर्यो, न त पक्राउ र रिहा नै गर्नुपर्यो । जनतालाई दुःख दिने, विकास र अग्रगतिको बाटोलाई अवरोध पुर्याउने कार्य समग्रमा यो एक प्रकारको राष्ट्रघाती कदम हो । हिंसा नेपाली समाजका निम्ती अस्वीकार्य छ’–उनले भने ।
‘सरकार सुशासन कायम गर्न प्रतिबद्ध’
एक अर्को प्रसंगमा सन्चारमन्त्री बाँस्कोटाले सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको भन्दै गल्ती गर्ने कसैलाई पनि कानुनी उन्मुक्ति नहुने स्पस्ट पारे ।
उनले भने–‘सुशासन कायम, कानुनको पालना, न्याय स्थापित गर्न तथा सामाजिक मूल्य-पद्धत्तिको रक्षा गर्न र त्यसलाई थप मर्यादित र व्यवस्थित गर्न सरकार लागिपरेको छ ।’
‘कलाकारको प्रस्तुति र मिडियाले प्रयोग गर्ने भाषा सभ्य र मर्यादित हुनुपर्छ’
र्यापर गायक ‘भिटेन’ भनिने समीर घिसिङको पक्राउका सन्दर्भमा एक सन्चारकर्मीले राखेको जिज्ञासामा सन्चारमन्त्री बाँस्कोटाले कलाकार र पत्रकार समाजको जिम्मेवार पहरेदारमात्र नभइ सभ्य समाज निर्माणको महत्वपूर्ण माध्यम पनि भएकाले कलाकारको प्रस्तुति र मिडियाले प्रयोग गर्ने भाषा सभ्य र मर्यादित हुनुपर्नेमा जोड दिए ।
उनले भने–‘नेपालको आफ्नै मौलिकतालाई पनि नबिर्सौं । शब्दहरुको सापटी वा शब्दहरु ‘कम्युनिकेसन’को माध्यम पनि हुन् र देशको संस्कृतिको परिचय पनि हुन् । अहिलेको समाज जंगली त हैन जसले जहाँ–जे बोले पनि हुने, जे लेखे पनि हुने, जहाँसम्म पक्राउ परेका कलाकार भिटेन, ‘थापा’लगायतको कुरा छ, भोलि अरु पनि पर्लान् ! जो–जसका भएपनि सभ्य समाजका निम्ती पाच्य प्रस्तुति हुनुपर्छ । कलाकारिता समाजको ऐना हो । दिदी–भाइ, बहिनी, आमा र परिवारसँग बसेर तिनले गाएको गीत सुन्नुस्, अनुहार लाजले रातोपिरो हुन्छ कि हुँदैन ।’ रासस
प्रतिक्रिया दिनुहोस्