
कविराज घिमिरे/ईमेज
धनकुटा । कृषकको नयाँ प्रजाति प्रतिको आकर्षण, बढ्दो रोग किराको प्रकोप लगायतको कारणले पुरानो तथा रैथाने प्रजातीको अमिलो जातका फलफुल लोप हुने क्रम बढ्दो छ ।
सोही स्थितिलाई मध्येनजर गरी धनकुटाको पारीपात्लेस्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले सुरु गरेको फिल्ड जीन बैँक प्रभावकारी बन्दै गएको हो ।
धनकुटास्थित राष्टिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारीपात्लेले फिल्ड जीन बैक स्थापना गरेको नौं बर्ष बितेको छ ।
नेपालसहित विभिन्न देशका विभिन्न स्थानमा पाइने विभिन्न प्रजातीका अमिलोजातका फलफुलको जिन यहाँ संकलन गरिएको छ ।
बढ्दो रोग किराको प्रकोप, जलवायु परिवर्तनको असर तथा नयाँ नयाँ प्रजातिको विकासले गर्दा पुरानो तथा रैथाने अमिलोजात लोप हुने अबस्थामा पुगेपछि कार्यालयले जिन सुरक्षित गरेको हो ।
अहिलेसम्म १ सय ३८ प्रकारका अमिलो जातका फलफूलको जिन संकलन गरी सुरक्षित गरिएको कार्यालयका प्राविधिक गोपाल सिलवाल जानकारी दिन्छन् ।
कार्यालयले करिब पाँच रोपनी क्षेत्रफल छुट्याएर खुल्ला स्थानमै अन्यत्र लोप भएका फलफूलको समेत प्रजाती राखेको छ ।
विभिन्न प्रजातीबीच क्रस गराएर नयाँ जातका प्रजातीको पनि विकास गरिएको छ ।
जिन बैकको स्थापनापछि लोपोन्मुख जात जोगिनुको साथै नयाँ जातको विकास गर्न सहयोग पुगेको कार्यालयका वरिष्ठ कृषि वैज्ञानिक डा. उमेर कुमार आचार्यको भनाइ छ ।
जलवायु तथा रोग किराको प्रकोपबाट फलफूलका विभिन्न प्रजाती लोप भइसकेको अवस्थामा यस कार्यालयले तिनको संरक्षणमा विशेष पहल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्