
प्रज्ञा तिमल्सीना
काठमाडौं, बैशाख २६ । कोरोना संक्रमण देखिएका व्यक्तिको उपचारमा अत्यावश्यक पर्ने अक्सिजनको चरम अभाव देखिएको छ ।
देशैभरका अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि संक्रमितले उपचार नै नपाउने अवस्था उत्पन्न भएको छ भने केही निजी अस्पतालहरुले यही वहानामा थप संक्रमित भर्ना नलिने भन्दै हात उठाउन थालेका छन् ।
धेरै संक्रमितहरुको उपचारमा अक्सिजनको आवश्यकता पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ जारी गरको छ ।
जसले आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने कोरोनाका विरामीलाई प्रतिदिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने जनाएको छ ।
क्रिटिकल केयरमा रहेका संक्रमितलाई १ मिनेटमा १० लिटरका दरले औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने र एचडीयूमा उपचार हुने विरामीलाई १ मिनेटमा ८ लिटरका दरले दिनमा औसत १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने मापदण्डमा उल्लेख छ ।
यस्तै अक्सिजनसहित मात्र उपचार गर्नु पर्ने विरामीका लागि भने प्रति १ मिनेटमा ४ लिटरका दरले ६ हजार लिटर प्रयोग गर्नु पर्ने छ ।
तर सरकारले मापदण्ड बनाए बमोजिमको अक्सिजनको आपूर्ती भने हुन सकेको छैन । अक्सिजनको अभावमा केही संक्रमितले ज्यान गुमाईसकेका छन् ।
शनिवारवाट अक्सिजनको अभाव देखाउदै ४ वटा निजी अस्पतालले थप विरामीको उपचार नै गर्न नसक्ने भन्दै हात उठाएका छन् ।
सो विषयमा निजी अस्पतालहरुको एशोसिएशन (अफिन) का वरिष्ठ उपाध्यक्ष कुमार थापा अक्सिजन नभए पछि कसरी गर्छन् त अस्पतालहरुले उपचार भन्नुभयो ।
स्वास्थ्य मन्त्रालयले अक्सिजन कम्पनीहरुलाई समेत आफनो सिफारिस विना कुनै पनि सरकारी, निजी र सहकारी अस्पतालहरुलाई अक्सिजन नदिनु भन्ने निर्णय गरेकाले समेत निजीमा उपचार भइरहेका संक्रमितहरुलाई थप समस्या हुने अफिनको तर्क छ ।
मन्त्रालयले शनिवार गरेको निर्णय अनुसार अब मन्त्रालयले तोकेको कम्पनी सँग मात्र अस्पतालहरुले अक्सिजन लिनु पर्ने हुन्छ ।
तर कम्पनीहरुले अस्पतालहरुलाई आवश्यक पर्ने प्रयाप्त अक्सिजन नदिएको थापाको भनाइ छ ।
काठमाडौ उपत्यकामा निजी देखि सरकारी अस्पतालहरुमा समेत अक्सिजनको चर्को अभाव देखिएको छ । अक्सिजन अभावका कारण सरकारी अस्पतालले नै थप विरामी लिन छाडेका छन् ।
अस्पतालहरुले थप विरामी नलिने निर्णय गरिरहदा सरकारले कुनै पहल गर्न सकेको छैन् ।
अत्यावश्यक अक्सिजन नपाएका कारण संक्रमितको मृत्यु हुने अवस्था आइरहदा पनि सरकार र सरोकारवालाहरु अझै पनि गम्भिर नहुदा अवस्था थप जटिल हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्