
जनकपुरधाम, कात्तिक ६ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले अब अलग–अलग पार्टीको ‘पसल’ चलाएर राजनीति गर्न नसकिने बताएका छन् ।
बुधबार जनकपुरमा चाडपर्वका अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसपछि तेस्रो शक्तिकोरुपमा खडा हुन मधेसमा रहेका सबै पार्टी र संघ–संगठनहरु एकीकृत हुनुपर्ने बताए ।
‘राजपाले संविधान संशोधनको लागि, मधेसी जनताको अधिकार प्राप्तीको लागि एक्लै संसदमा सरकारलाई बाध्य गराउन सकिने अवस्था बन्न सकेन’–उनले भने–‘सडकबाट पनि बाध्य पार्ने अवस्था बन्न सकेन । यो अवस्थामा संसदमा एउटा वैकल्पिक शक्तिको निर्माण नगरी खसवादी, नश्लवादी चिन्तन–सोचलाई बाध्य पार्न नसकिने रहेछ ।’
एकीकृत हुनुको विकल्प नरहेको भन्दै उनले समाजवादी पार्टीसित एकता प्रक्रिया धेरै अगाडि बढिसकेको र पार्टीको नाम, छाप तथा भातृसंगठनलगायतका कुरामा सहमति भइसकेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्