१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


दाङमा अक्सिजन उत्पादन सुरु, संक्रमितको उपचारमा सजिलो हुने आशा


0
Shares

राकेश बस्नेत
दाङ । दाङमा कोरोनाको महामारीले अक्सिजनको अभाव हुन थालेपछि जिल्लामै अक्सिजन उत्पादन गर्न थालिएको छ । अक्सिजनको हाहाकार हुँदा बन्द अवस्थामा रहेको अक्सिजन प्लान्ट सूचारु भएपछि राहत मिल्ने भएको छ ।

दाङको घोराही झिङ्निमा ६ बर्ष पहिले स्थापना गरिएको ग्यास प्लान्ट विद्युत अभावका कारण पटक पटक बन्द हुदै आएको थियो । करिब ४ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको उद्योग सञ्चालनमा समस्या आएपछि बन्द गरिएको थियो ।

घोराही उपममहानगरपालिका-३ मा रहेको उद्योगबाट दैनिक १ सय ५० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । नियमित उत्पादनको लागि प्रशासनलेसमेत सहयोग गरेपछि सजिलो भएको उद्योग सञ्चालक टोपाराम पौडेलको भनाइ छ ।

सामान्य अवस्थामा पनि जिल्लामा दुई सय सिलिण्डर ग्यास आवश्यक पर्दछ । तर कोरोनाका बिरामी थपिदै गए पछि अहिले दैनिक चार पाँच सय सिलिण्डर खपत हुँदै आएको छ । उद्योगको भने दैनिक दुईसय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । तर विद्युत अभाव हँदा क्षमता अनुसार उत्पादन हुन सकेको छैन ।

उद्योगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल बेल्झुण्डीलाई पहिलो प्राथमिकता दिँदै ग्यास उपलब्ध गराएको छ । जिल्लामै अक्सिजन उद्योग सञ्चालन हुँदा कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग पुगेको स्थानीयको भनाइ छ ।

दाङमा अक्सिजन अभाव भएका कारण घोराही उपमहानगरपालिका र प्रशासनको समन्वयमा उद्योगको लागि छुट्टै विद्युत लाइन उपलब्ध गराएर उद्योग सञ्चालनमा ल्याइएको छ । अघिल्ला दिनमा अक्सिजनको माग धेरै नभएको हुँदा उद्योग पनि बन्द भएको थियो । तर, अहिले महामारीलाई मध्यजनर गर्दै नियमित सञ्चालनको लागि उपमहानगरले पनि सहयोग गर्ने घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले बताउनुभयो ।

अक्सिजनको उत्पादन भन्दा माग बढी हुँदा नेपालगञ्ज, बुटवल, भैरहवा चितवनबाट ग्यास आउने गरेको छ । योसँगै जिल्लामा उत्पादित ग्यासले थौरे भए पनि राहत दिएको छ । त्यसैले स्वास्थ्यसँग सम्बन्धित यस्ता उद्योगको भने नियमित सञ्चालन हुन जरुरी छ ।