
नारायणी लामिछाने र राममान डंगोल (इमेज)
काठमाडौं, कात्तिक ५ । वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको काठमाडौंको रानीपोखरी यो वर्षको तिहारमा पनि नबन्ने भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत फागुनमा यो वर्षको तिहारसम्ममा निर्माण सक्ने गरी उपभोक्ता समितिलाई जिम्मा दिएको थियो ।
रानीपोखरी र बालगोपालेश्वर मन्दिर कस्तो र कसले बनाउने भन्ने विषयमै लामो समयसम्म विवाद हुँदा निर्माणले गति लिन नसकेको हो ।
निर्माणको जिम्मा पाएको उपभोक्ता समिति र जिम्मा दिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरी र मन्दिर तोकिएको अवधिमा सम्पन्न हुन नसक्ने जनाएको हो ।
रानीपोखरी र बालगोपालेश्वर मन्दिर बनाउन अझै चार महिना लाग्ने पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले अब फागुनसम्ममा काम सक्ने योजना बनाएको छ ।
गत फागुनबाट काम गर्दै आएको समितिले हालसम्म रानीपोखरी वरिपरिको करिब ८५ प्रतिशत पर्खाल निर्माण सम्पन्न भएको जनाएको छ ।
बालगोपालेश्वर मन्दिर पुरानै शैलीमा बनाउने सम्झौता भएपछि गत भदौबाट काम सुरु भएको थियो ।
सीएम कन्स्ट्रक्सन जेभीले गत भदौमा एक वर्षमा निर्माण सक्ने ठेक्का पाएको थियो ।
मौसमी प्रतिकूलताका कारण सोचेअनुरुप काम हुन नसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।
आगामी फागुनसम्ममा रानीपोखरी पुनःनिर्माणको काम सक्ने ज्ञवालीले बताए ।
केही दिनमा पोखरीमा कालोमाटो बिच्छाएर काम सुरु गर्ने समितिले जनाएको छ ।
पोखरीभित्रै कालोमाटो बिच्छ्याइने र त्यसमाथि इँटाको सतह बनाउने र पानी जम्नयोग्य बन्ने उपभोक्ता समितिका सचिव रोशन तुलाधरले बताए ।
मन्दिर निर्माणमा ढिलाइ हुँदा पोखरी निर्माणमासमेत असर परेको तुलाधरको भनाइ छ ।
यता, बालगोपालेश्वर मन्दिर पुरानै सामानको प्रयोग गरी पुरानै शैलीमा काम भइरहेको छ ।
हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले जानकारी दिएको छ ।
अहिले बन्न लागेको मन्दिर शिखर शैलीमा र सामान पनि पुरानै किसिमको प्रयोग हुने सीएम कन्स्ट्रक्सनका सान्तकुमार श्रेष्ठले बताए ।
मन्दिरको आधारसहित पुल निर्माणको काम पनि भइरहेको छ ।
रानीपोखरी निर्माणमा पटक–पटक परेको विवाद र जिम्मेवार निकायले ध्यान नदिँदा ऐतिहासिक महत्वको यो क्षेत्र अझैपनि तोकिएकै समयमा बन्नेमा शंका छ ।
प्रतिक्रिया दिनुहोस्