
काठमाडौं, कात्तिक ५ । नेपालमा पछिल्ला दिनमा नीति निर्माण गर्ने जिम्मेवारी बोकेका सांसदहरु एकपछि अर्का प्रकरणमा मुछिन थालेका छन् ।
‘जो अगुवा उही बाटो हगुवा’ भन्ने नेपाली उखानलाई चरितार्थ गरेझैं संसदको तल्लो सदन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा नै आफ्नै सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी खोरमा छन् ।
रौतहटबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम १२ वर्षअघिको एउटा नरसंहारकारी मुद्दामा तानिएर प्रहरी खोरमा पुगेका छन् ।
उनीमाथि २०६४ सालको संविधानसभा निर्वाचनअगाडि आफैंले बम बनाउन लागेको स्थानमा विस्फोट हुँदा घाइते भएका कामदारसहित चुनावी कार्यक्रममा हिँडाइएका व्यक्तिहरुलाई इँटाभट्टाको आगोमा हालेर हत्या गरेको आरोपमा मुद्दा खेप्दै छन् ।
सत्तारुढ दल नेकपा (तत्कालीन नेकपा एमाले) दोलखाका सांसद पार्वत गुरुङ गत निर्वाचनमा माओवादी कार्यकर्ताको हत्यासँग जोडिएको एक मुद्दामा साधारण तारेखमा छुटेका छन् ।
यी सबैको मुद्दामाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।
राज्यको चरम निरीहता, प्रहरीको निकम्मापन र दण्डहीनताको पराकाष्ठाका केही नमुनामात्र हुन्, माथिका प्रतिनिधिमूलक घटना ।
सामूहिक नरसंहारजस्तो अपराधको १२ वर्षपछि बल्ल प्रहरी अनुसन्धानको धागो तान्दै छ । अनुसन्धानले मुद्दालाई कुन पाटोसम्म पुर्याउला ? समयले देखाउला !
बालुवाटार सरकारी जग्गा माफियाकरणकाण्डमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस उपसभापति विजयकुमार गच्छदार, जग्गा खरिद गरेका र माफियालाई सघाएको आरोप लागेका नेकपाका महासचिव विष्णु पौडेलजस्ता पात्र मुछिएका छन् ।
यस काण्डको अनुसन्धान गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पटक–पटक गरी चार महिना समय पाउँदा पनि आफ्नो काम सकाएको छैन । उसको अनुसन्धान कति गहिराइसम्म पुग्छ र को–कसको संलग्नता देखाउँछ, त्यो त हेर्न बाँकी नै छ ।
देवेन्द्रराज कँडेल र भारतीय नागरिकता रहेको दाबी
अहिले उल्लेख गर्न लागेको अर्को घटना हो, कांग्रेसकै नवलपरासीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद देवेन्द्रराज कँडेलको ।
उनी पनि सीमावर्ती भारतको एक क्याम्पसको सञ्चालक समितिको अध्यक्ष भएको खबरसँगै चर्चामा आएका छन् ।
भारत, उत्तर प्रदेशको गोरखपुर, महाराजगन्जस्थित राधादेवी इन्टरकलेज व्यवस्थापनको अध्यक्ष रहेका कँडेलको नागरिकतामाथि पनि प्रश्न उब्जेको हो ।
खासमा उनले उक्त कलेजको व्यवस्थापन समितिको अध्यक्षको हैसियतमा शपथ लिँदा त्यहाँको स्थानीय ठेगाना उल्लेख गरेका छन् । जसका कारण उनी विवादमा तानिएका हुन् ।
#नेपाल के पूर्व गृह राज्यमंत्री एवं
वर्तमान सांसद ,और ठूठीबारी के
राधा कुमारी इंटर कॉलेज नव निर्वाचित
अध्यक्ष माननीय श्री #देवेन्द्र राज कंडेल
व मंत्री #अनिल राज कंडेल जी के साथ।@devendrakandel7 @dr1kandel pic.twitter.com/CqLI5aa2g5— Aditya Nath Patwa (@AdityaNPatwa) September 20, 2018
साथै, कँडेल र उनको परिवारको भारतीय नागरिकता रहेको दाबी समाचारहरुमा गरिएको छ ।
उनको परिवारका केही सदस्यको भारतीय निर्वाचन आयोगको मतदाता नामावली सूचीमा नाम रहेको दाबी पनि गरिएका छन् ।
यदि, उनको भारतीय नागरिकता भएको पुष्टि भएमा उनको सांसद पदको हैसियत के हुने भन्ने कानुनी पाटोमा त अहिले राज्य प्रवेश गरिसकेको छैन । यद्यपि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले भारतमै पुगेर अनुसन्धान गरेको खबर सार्वजनिक गरिएको छ ।
कँडेल भारत, उत्तर प्रदेशको गोरखपुर, महाराजगन्जस्थित राधादेवी इन्टरकलेज व्यवस्थापनको अध्यक्ष बनेको र उनले भारतीय नागरिककै हैसियतमा हिन्दी भाषामा शपथ लिएको उजुरी अख्तियारमा परेपछि सीआइबीले अनुसन्धान थालेको हो ।
#ठूठीबारी
राधा कुमारी इंटर कॉलेज के क्रीड़ा मैदान में स्व० ईश्वरराज क्रिकेट प्रतियोगिता का आज से प्रारम्भ हुआ। जिसका भव्य उद्धघाटन#नेपाल के #पूर्व_गृहराज्यमंत्री व #वर्तमान_सांसद माननीय #देवेन्द्र_राज_कंडेल ने किया।@devendrakandel7 @dr1kandel pic.twitter.com/gPxOBjmazY— Aditya Nath Patwa (@AdityaNPatwa) November 17, 2018
शपथमा उनले भारतको ३३ कसाया रोड, बेतिया हाता जनपद, गोरखपुरको बासिन्दा भएको र आफूले दिएको विवरण झूठा भएमा कारबाही भोग्न तयार रहेको शपथ लिएको खुलेको छ ।
यसले मुलुकको दण्डहीनताको पाटो एकातिर छर्लङ्याएको छ भने अर्कातिर कांग्रेसी वृत्तमा भने आफ्ना सांसदहरु एकपछि अर्को गर्दै विभिन्न काण्डमा तानिन थालेपछि चिन्ता थपिन थालेको छ ।
कांग्रेसको केन्द्रीयदेखि स्थानीय तहमा यसबारे चर्चा हुनुका साथै कतै सत्ता प्रतिशोधात्मक हुन थालेको त होइन ? भन्दै आशंका गर्न थालिएको छ ।
कँडेलको दाबी
सांसद कँडेलले आफ्नो भारतीय नागरिकता रहेको भनि प्रचारित खबर कपोलकल्पित भन्दै केन्द्रीय नेताहरुलाई भ्रममा नपर्न भनेका छन् ।
उनले आफूविरुद्ध नेकपाको सरकार र मूलतः माओवादी वृत्त प्रतिशोध साँध्ने नियतमा रहेकाले झूठो खबर प्रचारित गरेको दाबी गरेका छन् ।
टाउकाको मोल तोकेको प्रतिशोध साँध्न खोजियो !
उनीमाथि माओवादी नेताहरु शुरुदेखि नै रुष्ट रहेका थिए । खासमा माओवादी सशस्त्र हिंसाका समयमा सरकारमा गृह राज्यमन्त्रीको हैसियतमा रहेका कँडेलले माओवादी नेता पुष्पकमल दाहाल, बाबुराम भट्टराई, रामबहादुर थापालगायत नेताको टाउकाको मोल तोक्ने सरकारी निर्णय सार्वजनिक गरेका थिए ।
उनले ‘माओवादी नेताहरुको टाउको झोलामा ल्याउन र त्यही झोलामा तोकिएको मोल लिएर जान’ भनि दिएको अभिव्यक्तिप्रति माओवादी नेताहरु सुरुदेखि नै रुष्ट बनेका हुन् ।
उनको यो अभिव्यक्ति निकै विवादित पनि बनेको थियो । त्यसैले उनीमाथि माओवादीले बारम्बार प्रहार पनि गर्दै आएका थिए ।
संयोग के छ भने उनले टाउको मोल तोकेका नेताहरु नै अहिले सत्तामा छन् र उनी विपक्षी दलको सांसद । उनले तत्कालीन सरकारले मोल तोकेका रामबहादुर थापा गृह मन्त्रालयको नेतृत्वमा छन् ।
त्यसैको बदला लिन माओवादीकै नेता रामबहादुर थापाले गृह मन्त्रालय सम्हालेका बेला आफूलाई झूठा मुद्दामा फसाउन खोजिएको उनको आशंका छ ।
यही आशंका गर्दै उनले केन्द्रीय नेताहरुलाई आफ्नो भारतीय नागरिकता नरहेकोमा विश्वस्त हुन र भारतीय निर्वाचन आयोगको मतदाता सूचीमा नाम नभएकोमा ढुक्क हुन पनि भनेका छन् ।
कस्तो छ कँडेलको राजनीतिक र पारिवारिक पृष्ठभूमि ?
प्रतिनिधिसभाका सांसद कँडेल यसअघि दुईपटक गृह राज्यमन्त्री भइसकेका व्यक्ति हुन् ।
२०४८ सालदेखि नवलपरासी जिल्लाबाट चुनाव लड्दै आएका कँडेल २०५४ र २०५६ मा गृह राज्यमन्त्री भएका हुन् ।
उनका बुवा पृथ्वीराज २०१५ सालमा नेपाली कांग्रेसका सांसद थिए भने हजुरआमा राधादेवी कँडेल त्यही बेला कांग्रेस संसदीय समितिको सदस्य थिइन् ।
नवलपरासीको साविक रमपुरवा गाविस–६ हाल पालिनन्दन गाउँपालिका–१ का स्थायी बासिन्दा कँडेल २०३८ सालमा पहिलोपटक प्रधानपञ्च बनेका थिए भने अर्को एक कार्यकाल पनि उनी प्रधानपञ्चमा निर्वाचित भए ।
२०५१ र २०५६ सालको निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर–४ बाट निर्वाचित कँडेल संसदीय दलको सचेतकसमेत बनेका थिए ।
२०७४ मा भएको प्रतिनिधिसभा चुनावमा नवलपरासी–२ बाट निर्वाचित कँडेलले वाम गठबन्धनका माओवादी उम्मेदवार घनश्याम यादवलाई १० हजार २३२ मतले पराजित गरेका थिए । हाल उनी संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य पनि हुन् ।
गृह राज्यमन्त्री भएका बेला तत्कालीन माओवादी नेताहरुको टाउकाको मूल्य तोक्ने कँडेलमाथि २०६० भदौमा ललितपुरमा माओवादीले गोली हानी हत्या गर्ने प्रयाससमेत गरेको दाबी उनी गर्छन् ।
सन् १९५२ मा कँडेलकी हजुरआमाको नाममा स्थापित राधाकुमारी इन्टर कलेज त्यस क्षेत्रकै चर्चित शैक्षिक संस्था मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्