
काडमाडौं, कात्तिक ५ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा समसामयिक विषयमा छलफल भएको छ ।
पार्टीभित्र र बाहिरको विषयमा छलफल भएपनि नेताहरु कुनै निष्कर्षमा भने पुगेका छैनन् ।
मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा आसन्न उपनिर्वाचनबारे नेताहरुले छलफल गरेपनि कुनै निर्णय भने गरिएको छैन ।
यद्यपि, बिहीबारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे भने छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
भ्रातृसंस्था तरूण दललाई पूर्णता दिने र नेविसंघको महाधिवेशन गराउन तदर्थ समिति गठन गर्नेबारे छलफल भएपनि कुनै निर्णय नभएको शर्माले बताए ।
द्वन्द्वकालीन मुद्दाहरू सहमतिमै
बैठकमा सभापति देउवाले हालै प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग द्वन्द्वकालीन मुद्दा टुंग्याउने विषयमा भएको छलफलबारे जानकारी गराएका थिए ।
देउवा, ओली र दाहालबीच सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगलाई नेतृत्व प्रदान गर्नेबारे छलफल भएको थियो ।
सभापति देउवाले मंगलबार बिहान नै प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी द्वन्द्वकालीन मुद्दाहरू सत्ता र प्रतिपक्षको सहमतिमै हल गर्ने र ऐन निर्माणमा टुंगोमा पुग्नुपर्ने आग्रह गरेका थिए ।
सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्वमा सत्ता र प्रतिपक्षले आफूनिकटका मानिस राख्न खोज्दा पदाधिकारी सिफारिस गर्न गठित समिति सात महिनादेखि अनिर्णित छ ।
बैठकमा पछिल्ला दिनमा कांग्रेसका नेताहरुमाथि विभिन्न कान्डमा भइरहेको छानबिन र अनुसन्धानकाबारेमा पनि सामान्य छलफल भएको थियो ।
सांसद देवेन्द्रराज कँडेलको भारतीय नागरिकता रहेको भन्ने विषयमा आएको समाचारकाबारेमा पनि छलफल भएको थियो ।
पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइरालालगायत नेता उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्