१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जापानका सम्राट नारुहितोले राजगद्दी सम्हाले, ‘सम्राट चिरायु रहुन्’ भन्दै घन्कियो नारा


0
Shares

काठमाडौं । जापानका सम्राट नारुहितोले भव्य समारोह बीच राजगद्दी आरोहण गरेका छन् ।

गत मे मा तत्कालीन सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो मे महिनामा जापानको सम्राट बनेका थिए ।

टोकियोमा परम्परागत विभिन्न विधि सम्पन्न भएपछि  ५९ वर्षिय नारुहिताले औपचारिक रूपमा राजगद्दी आरोहण गरेका हुन् ।

परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बसेका थिए ।

त्यसपछि लिखित मन्तव्य वाचन गर्दै उनले राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा उत्तरदायित्व वहन गर्न संविधानअनुसार काम गर्ने शपथ लिन्छु भने ।

पूर्वसम्राट अकिहितो पनि छोराको राजगद्दी आरोहण समारोहमा उपस्थित थिए । समारोहमा जापानको राजकीय शक्तिको संकेतका रूपमा लिइने प्राचीन तरबार र रत्न पनि राखिएको थियो ।

जापानमा हालै आएको शक्तिशाली समुद्री आंधीका कारण ठूलो धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न शोभायात्रा भने स्थगित गरिएको छ । 

प्रधानमन्त्री शिन्जो आबेले सम्राट नारुहितोलाई बधाई ज्ञापन गरेपछि उहाँको नेतृत्वमा उपस्थित मानिसहरूले ‘सम्राट चिरायु रहुन्’ भन्दै नारा लगाएका थिए ।

संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका आलङकारिक छ । (एजेन्सी)