Logo १४ माघ २०८२, बुधबार | Thu Jan 29 2026


राजनीतिक दललाई एनआरएनएका अध्यक्ष पन्तको आग्रह : ‘कार्यकर्तालाई सम्झाइदिनुहोस’ (भिडियो)


0
Shares

काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)को नव निर्वाचित अध्यक्ष कुमार पन्तले विश्व सम्मेलन रमाइलोमा मात्र केन्द्रित भएको गुनासो गरेका छन् ।

विश्व सम्मेलन वा निर्वाचन उत्सव र रमाइलोमा लाग्दा विधि, विधान र नीति निर्माण ओझेलमा परेको उनको गुनासो थियो ।

ईमेज टेलिभिजनको ‘समृद्धीको यात्रा’कार्यक्रममा कुरा गर्दै उनले नेपालका राजनीतिक दलले र एनआरएनमा आबद्ध पार्टी कार्यकर्ताहरुकै कारण संस्थाभित्र समिक्षा जरुरी भइसकेको उनको भनाई थियो ।

‘संस्थाका कतिपय साथीहरु कुनै पार्टीसँग आबद्ध हुनुहुन्छ, उनीहरुलाई राजनीति नगर्न र विभाजित नहुन सल्लाह दिनुको सट्टा नेताहरु नै होटल होटल पुगेर भोट माग्नु दुर्भाग्यपूर्ण हो,’ उनले भने, ‘हामी संस्था विभाजित गर्न चाहन्नौं, नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई सम्झाइदिनुहोस ।’

आगामी दिनमा विश्व सम्मेलन नेपालमा नगर्ने भनी दिएको अभिब्यक्तिबारे अध्यक्ष पन्तले भने,‘संस्थाको महाधिवेशन नेपालमै गर्ने तर अनलाइन मतदान प्रणाली मार्फत ब्यवस्थित बनाउनेछौं ।’

संस्थामा भएका कमजोरीहरु आफूले पत्ता लगाइसकेको बताउँदै उनले यसपटकको विश्व सम्मेलनमा केही त्रुटीहरु भएको स्वीकारे । उनले भने, ‘सम्मेलन स्थलमा बाहिरका ब्यक्तिहरु आएर होहल्ला गर्ने, एनआरएनएका साथीहरुलाई उत्तेजित बनाउने कार्यप्रति हामी गम्भीर छौं, यसलाई सुर्धाछौं ।’

चुनावमा आर्थिक चलखेल बढेको, चरम राजनीतिकीकरण बढेको र केही बिकृतीहरु भित्रिएकाले सचेत रहेको बताउँदै उनले भने, ‘आगामी दिनमा हामी यस्ता समस्याहरुकाबारे गम्भीर छौं ।’

फरक प्रसंगमा उनले विश्वभर रहेका नेपालीहरुको ज्ञान, सीप, पूँजी नेपालमा भित्र्याउने आफ्नो कार्याकालमा सक्दो प्रयास गर्ने र संस्थालाई नमुना बनाउने विश्वास दिलाए ।