
अक्कल कुँवर (इमेज)
काठमाडौं, कात्तिक ४ । कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि अहिले सभामुख पद रिक्त छ ।
नयाँ सभामुख चयनका लागि अनौपचारिक छलफल सुरु भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र नयाँ सभामुखका लागि रस्साकस्सी सुरु भइसकेको छ ।
सत्ताबाहिर रहेका संसदमा प्रतिनिधित्व गर्ने दलहरुले पनि सभामुख र उपसभामुखमध्ये एक पद आफूहरुले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भागबन्डाको आधारमा माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा सभामुख र एमालेबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख बनेका थिए ।
सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनीहरुले भागबन्डा गरेका थिए ।
दुई दलबीच एकता भएर एकै दल बनेपछि सभामुख र उपसभामुखमध्ये एक पद छोड्नुपर्ने आवाज उठ्यो । तर, अदालतमा रिट परेपछि त्यो विषय त्यत्तिकै सेलायो ।
महराले सभामुख पदबाट राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएपछि रिक्त पदपूर्तिका लागि नयाँ सभामुखको खोजी सुरु भएको छ । तर, सत्तारुढ दल नेकपाभित्रै नयाँ सभामुख खोजीमा विवाद सुरु भएको छ ।
राजनीतिक भागबन्डाअनुसार सभामुख पूर्वमाओवादीको भागमा परेकाले नयाँ सभामुख पनि पूर्वमाओवादी केन्द्रबाट हुनुपर्ने नेकपाभित्रको माओवादी खेमाको अडान छ ।
पूर्वएमाले पंक्ति भने दुईपार्टी एक भइसकेको अवस्थामा पूर्वएमाले र माओवादी खेमा भन्ने नै नरहेको जिकिर गर्दै आएको छ ।
कानुनी प्रक्रिया पूरा गरेर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन सकिन्छ । तर, पूर्वएमालेभित्रकै एक समूह तुम्बाहाम्फेलाई सभामुख बनाउन सहमत देखिँदैन ।
यदि, पूर्वएमाले खेमा तुम्बाहाम्फेलाई नै सभामुख बनाउन एकढिक्का भए पूर्वमाओवादी खेमा आफ्नो अडानबाट पछि हट्ने अवस्था थियो ।
तुम्बाहाम्फेलाई सभामुख बनाउन पूर्वएमाले खेमा नै एकजुट नभएपछि पूर्वमाओवादी खेमा आफ्नो अडानलाई थप बलियो बनाउने रणनीतिमा लागेको छ ।
पूर्वमाओवादी खेमा भने यसअघिको सहमतिअनुसार सभामुख पद खोसिए अन्याय गरेको ठहर्ने जिकिर गर्दै आएको छ ।
त्यसो त नेकपाभित्रको एक खेमाले उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउने वा अर्को विकल्पकोरुपमा उनलाई मन्त्री पद दिएर नयाँ सभामुख चयनको प्रक्रिया सुरु गर्ने विषयमा पनि अनौपचारिक छलफल गरिहेको छ ।
यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उपसभामुख तुम्बाहाम्फेबीच अनौपचारिक छलफल पनि भएको छ ।
तुम्बाहाम्फे उपसभामुख कायम रहँदासम्म सत्तारुढ दल नेकपाले नयाँ सभामुख चयनका लागि उम्मेदवारी दिन पाउने छैन ।
नयाँ सभामुख चयनका लागि औपचारिक प्रक्रिया सुरु नभएपनि सत्तारुढ दल नेकपाभित्र विभिन्न सांसदहरु सभामुखका लागि चर्चामा रहेका छन् ।
नेकपाभित्र पूर्वमाओवादी खेमाबाट सभामुखका लागि प्रमुख सचेतक देवप्रसाद गुरुङ, पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती र अग्नि सापकोटाको नाम चर्चामा छ ।
तत्कालीन संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुखका लागि रुचि नभएको अभिव्यक्ति दिएपनि नेकपाभित्र पूर्वएमाले खेमाबाट उनी नै नयाँ सभामुखका लागि पहिलो नम्बरका सम्भावित उम्मेदवार हुन् ।
सभामुख पदका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित संसदमा प्रतिनिधित्व रहेका अरु दलले पनि अनौपचारिक दाबी गरिरहेका छन् ।
सत्तारुढ दल नेकपाले सभामुख पदमा उम्मेदवारी दिने अवस्था सिर्जना भए संसदमा उसकै स्पस्ट बहुमत रहेकाले अरु दलबाट सभामुख निर्वाचित हुने सम्भावना भने छैन ।
तर, कानुनी समस्या र सत्तारुढ दलभित्रै नयाँ सभामुख चयनका लागि भइरहेको रस्साकस्सीले नयाँ सभामुख चयन भने ढिलो हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्