२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चिलीमा सरकारविरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु


0
Shares

सान्टियागो, कात्तिक ४ । चिलीमा जारी सरकारविरोधी प्रदर्शनकाक्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कानुन व्यवस्थामा चुनौती देखिएसँगै सरकारले २४ घन्टे निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ ।

राजधानी सान्टियागोको एक सुपरमार्केटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपका कारण तीनजनाको मृत्यु भएपछि निषेधाज्ञा लगाइएको छ ।

मेट्रोको भाडावृद्धिको विरोधबाट सुरु भएको प्रदर्शन हाल चिलीमा बढेको असमानता र दैनिक जीवन कस्टकर हुँदै गएको विरोधमा केन्द्रित भएको छ ।

प्रहरीले हालसम्म लुटपाट र अरु गम्भीर अपराधको आरोपमा ७०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

माध्यमिक तहमा पढ्ने विद्यार्थीहरुले राष्ट्रपति सेबास्टियन पिनेरालाई सार्वजनिक यातायातको भाडावृद्धि फिर्ता लिन आग्रह गर्दै विरोध प्रदर्शन सुरु गरेका थिए ।

तर, यो प्रदर्शनले पछिल्ला दिनमा उग्ररुप लिएको छ र प्रदर्शन देशव्यापी हुन थालेको छ ।

राजधानी सान्टीयागोमा कम्तीमा पाँचओटा भूमिगत स्टेसन र बसहरुमा आगजनी गरिएको छ भने उग्र प्रदर्शनकारीले सुपरमार्केट र फार्मेसी पसलमा लुटपाट गरेका छन् ।

धेरैओटा समूहले सोमबारका लागि राष्ट्रव्यापी आमहडताल आह्वान गरेका छन् ।

राष्ट्रपति पिनेराले शनिबार सवारी–साधनको भाडावृद्धि फिर्ता लिने घोषणा गरेपनि प्रदर्शनहरु रोकिएका छैनन् ।

सन् १९९० मा चिलीमा लोकतन्त्रको पुनर्बहाली भएपश्चात् सरकारको विरोधमा यो सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भएको हो । रासस/एएनआई