Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


संस्कृत भाषाका महाकवि पन्थीको अर्धकदको शालिक अनावरण


0
Shares

कपिलवस्तु, बैशाख १९ । संस्कृत भाषाका महाकवि पण्डित भीमकान्त पन्थीको जन्म शताब्दीको अवसरमा कपिलवस्तु जिल्लाको साहित्य चौतारी कपिलधाममा अर्धकदको शालिक अनावरण गरिएको छ ।

उक्त अवसरमा किरण पुस्तकालय गुल्मी तम्घासको त्रैमासिक प्रकाशन हाम्रो पुरुषार्थको अंक ८९ पण्डित भीमकान्त पन्थी स्मृति विशेषांकको लोकार्पणसमेत गरियो ।

स्व. पण्डित पन्थीकी धर्मपत्नी ८८ वर्षीया नीलमाया पन्थीले शालिक अनावरण गर्नुभयो । त्यस्तै स्मृति विशेषांकको लोकार्पण रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका पूर्व क्याम्पस प्रमुख तथा हाम्रो पुरुषार्थका प्रधानसम्पादक प्रा. शशी पन्थीले गर्नुभयो ।

चन्द्रकान्त पन्थीले सञ्चालन गरेको उक्त कार्यक्रममा महाकवि पण्डित पन्थीका छोरा प्रा. डा. लक्ष्मीकान्त पन्थीले ‘पण्डित भीमकान्त पन्थी स्मृति विशेषांक प्रकाशन गर्नुको औचित्य एवं उक्त विशेषांकमा भएका लेख रचनाहरुको विवेचना गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित भएका साहित्यकारहरुले विभिन्न लेख रचनाहरु पाठ गर्नु भएको थियो । कार्यक्रममा प्रा. शशी पन्थीले भीमकान्त पन्थीको जीवनका विविध पक्षहरुमा प्रकाश पार्नु भएको थियो । पण्डित भीमकान्त पन्थीका जगदिश्वर बैभवम् र जगदम्बिका बैभवम् गरी दुई ओटा संस्कृत भाषाका महाकाव्यहरु प्रकाशित छन् ।

नेपाली र संस्कृत भाषाका अन्य थुप्रै फुटकर कविताहरुको संग्रह पुस्तक पनि प्रकाशित भएको छ । स्वर्गीय पण्डित भीमकान्त पन्थीका ५ छोरा र ३ छोरी हुनुहुन्छ ।