Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


अर्थतन्त्र भन्दा श्रमिकको जीवन ठुलो : डा. शशांक कोईराला


0
Shares

काठमाडौं, बैशाख १८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले अर्थतन्त्र भन्दा श्रमिकको जीवन ठुलो हुने बताउनुभएको छ ।

शनिबार ट्रेड युनियन कांग्रेसले १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित नेपालमा कोभिड-१९ को बढ्दो संक्रमण र श्रम क्षेत्रमा पर्ने प्रभाव विषयक भर्चुअल कार्यक्रममा यस्तो विचार राख्नु भएको हो ।

कोईरालाले भन्नुभयो-कोरोनाको दोश्रो लहरले अर्थतन्त्रमा नकारात्मक प्रभाव त पार्छ नै तर सरकारले श्रमिक र आमनागरिकको जीवन कसरी जोगाउने भन्ने विषयलाई प्राथमिकता दिनुपर्छ ।

उहाँले सरकार अझै पनि कोरोना नियन्त्रण गर्न गम्भीर नभएको आरोप लगाउनु हुँदै भारतबाट आएका नेपालीहरुलाई व्यवस्थित क्वारेन्टाइनमा राख्नु पर्ने र श्रमिकलाई राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले निषेधाज्ञाले ठुलो संख्यामा श्रमिकहरु बेरोजगार र भोकभोकै हुने हुँदा तत्काल राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।

उहाँले कोरोना कहरमा समेत श्रम ऎनको दुरुपयोग गरि श्रमिक निष्कासन गर्ने गतिविधिले औद्योगिक सम्बन्ध सुमधुर नहुने बताउनु हुँदै यस्तो कार्य तत्काल बन्द नगरे आन्दोलनको विकल्प नहुने चेतावनी दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोबिन्द पोखरेलले लकडाउनका कारण लाखौंले अम्दानि गुमाएको बताउनु हुँदै निजि क्षेत्र र सरकार मिलेर नेपाली श्रमिकको सिपमा अभिवृद्धि गर्दै आर्थिक असमानता हटाउनु पर्ने बताउनुभयो ।

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाली श्रम बजारमा दक्ष नेपाली कामदार नहुदा विदेशिले काम पाईरहेकोले बेरोजगारी न्यूनीकरण गर्न नेपाली युवाहरुको सिपमा अभिवृद्धि गर्नु पर्ने बताउनुभयो ।

दक्षिण एसियाली ट्रेड युनियन परिषद् (सार्कटुक) का महासचिव लक्ष्मण बहादुर बस्नेतले संविधानमा श्रमिक किसान र युवाको प्रतिनिधित्वको व्यवस्था गरेको भए पनि नीतिनिर्माण तहमा प्रतिनिधित्व शुन्य रहेको बताउनुभयो ।

आई.एल.ओ. का नेपाल प्रमुख रिचार्ड हवार्डले लकडाउनले लाखौं श्रमिक बेरोजगार भएको त्यसमा पनि अनौपचारिक र दैनिक ज्यालादारीमा कार्यरत श्रमिकलाई ठुलो मार परेको बताउनुभयो ।

उहाँले बेरोजगार बनेका श्रमिकलाई प्रभावकारी सहयोग गर्न नसक्दा अझै पिडामा परेको बताउनुभयो ।

संक्रमण रोग विषेशज्ञ शेर बहादुर पुनले सरकारले कोरोनाको पहिलो लहरकै बेला राम्रो व्यवस्थापन नगरेकोले दोश्रो लहर आएको बताउनुभयो ।

सामाजिक दुरि कायम गर्नु पर्ने बेला ठुला ठुला भिडभाड, कार्यक्रम गर्नु, लक्षण नदेखिने कोभिड बिरामीको परिक्षण नगरि समाजमा हिड्न दिनुले यो अवस्था आएको बताउनु हुदै सबैजना गम्भीर नभए अवस्था धेरै नराम्रो हुन सक्ने चेतावनी दिनुभयो ।

यसैगरी ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव र उपाध्यक्ष आशासिंह राठौरले नेपाली श्रमिकहरु ज्यादै ठुलो समस्यामा रहदा पनि सरकारले कुनै वास्ता नगरेको आरोप लगाउनु हुँदै तत्काल सबै श्रमिककालागि योगदानमा आधारित सामाजिक सुरक्षा लागु गर्नुपर्ने बताउनु भयो ।