
दाङ । दाङमा आज बिहानदेखि लकडाउन सुरू भएको छ । कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि ९ दिन लकडाउनको घोषणा गरिएको हो ।
गत मंगलबार घोराहीमा भएको सर्वदलीय बैठकले आजदेखि २५ गतेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो । दाङमा लकडाउनको प्रभाव बिहानैदेखि देखिएको छ भने बजार, यातायात सबै सुनसान भएको छ ।
लकडाउनको समयमा खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने भएको छ । यस्तै अत्यावश्यक गाडीबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाइएको छ ।
बैठकले कोरोना विशेष बेलझुण्डि अस्पताललाई ६५ बेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय बेड बनाउने निर्णय गरेको थियो ।तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजनसहितको ४०/४० बेड र प्रत्येक गाउँपालिकाले २० बेड क्षमताका अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गर्ने निर्णय भएको थियो ।
दाङका १० वटै पालिकाले आइसोलेशन सेन्टर बनाउने काम सुरू गरेका छन । वैशाख २५ गतेपछि भने अवस्था हेरेर थप निर्णय लिइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्