
काठमाडौं, बैशाख १४ । सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
सरकारले काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ ।
यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।
संक्रमणको अवस्था भयावह भए अत्यावश्यक बाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै निर्णय पुर्नर्विचार गर्न माग गर्नुभयो ।
हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारी साधनले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने भएकाले लामो दुरीका सवारी चलाउन दिनुपर्ने उहाँको भनाइ छ ।
महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वस्फूर्त अवज्ञा हुने चेतावनी दिनुभयो ।
अघिल्लो वर्ष लामो समय बन्द गरिदा यातायात क्षेत्र धरासयी भएको भन्दै व्यवसायीहरुले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्नु नहुने बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्