२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रपति भण्डारी नेपितमा (५ तस्वीर)


0
Shares

काठमाडौं, असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमार भ्रमणकाक्रममा बुधबार साँझ राजधानी नेपित पुगेकी छन् ।

उनलाई म्यानमार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री ऊ क्य तिन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा. म्यो आङले स्वागत गरेका थिए ।

नेपालका लागि म्यानमारका राजदूत भीमकृष्ण उदासले पनि राष्ट्रपतिको स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई नेपित सहरका बालबालिकाले पनि पुष्पहार चढाइ स्वागत गरेका थिए ।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीयसचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन् ।

राष्ट्रपति भण्डारीले असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यानमारको राजकीय भ्रमण गर्दैछिन् ।

राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपति मिन्तबीच बिहीबार बिहान ‘प्रेसिडेन्सियल हाउस’मा भेटवार्ता हुनेछ ।

राष्ट्रपतिसँग म्यानमारका स्टेट काउन्सिलर आङ सान सुचीले पनि सोही हाउसमा भेट गर्नेछिन् ।

सोही दिन म्यानमार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यानमारका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गर्नेछन् ।

त्यस्तै, जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमन्डलले अवलोकन गर्ने कार्यक्रम छ ।

यसैगरी, राष्ट्रपति भण्डारीको सम्मानमा म्यानमारका राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन् । रासस