२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


नेपालमा कोरोना नियन्त्रण बाहिर पुग्ने संकेत


0
Shares

प्रज्ञा तिमल्सिना

काठमाडौं, बैशाख १२ । नेपालमा कोरोना संक्रमण डरलाग्दो रुपमा फैलिदै गएको छ ।

दिनहुँ बढ्दै गएको संक्रमितको संख्याले आइसियूमा बस्नुपर्ने र भेन्टिलेटरमा जाने विरामीको चाप थामिनसक्नु हुने देखिंदैछ ।

तर अहिले पनि सरकारी उदासिनता र सर्वसाधारणको लापरबाही उस्तै छ । यस्तै अवस्था रहने हो भने नेपालमा पनि स्थिति भयावह नबन्ला भन्न सकिंदैन ।

विगत एक बर्ष अघिदेखिको अवस्थालाई हर्ने हो भने अहिलेको अवस्था निकै जटिल बनिसकेको छ ।

गत वर्षको तुलनामा अहिले निको हुने अनुपात पनि घट्दो छ ।

यसले हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौँ भन्ने प्रष्ट पार्दछ ।

अहिलेको अवस्थालाई चित्रित गर्दै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले शनिबार सामाजिक सञ्जालमा चिन्ता प्रकट गर्दै लेख्नुभयो– घरिघरि त लाग्छ , हामी उपचारमा खटेका मान्छे ढल्यौं भने ,के होला अवस्था ? संक्रमणको फैलावट यहि गतिमा बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ ,स्वास्थ्य सेवा डामाडोल हुन सक्छ ।

हाल कोरोना संक्रमणका कारण आइसियू र भेन्टिलेटरमा पुगेका विरामी कारण अस्पताल भरिभराउ छन् । अब वेड नपाउने अवस्था बनिसकेको टेकु अस्पतालले जनाएको छ ।

उपचारमा अत्यावश्यक पर्ने अक्सिजनको नेपालमा हाहाकार जस्तै भइसकेको छ । संक्रमितको उपचार गराउने काठमाडौमा मुख्य वीर, पाटन, त्रिवि शिक्षण लगाएतका अस्पतालमा अक्सिजनको अभाव देखिसकेको छ । छिमेकी देश भारतमा समेत अक्सिजनको अभावका कारण नेपालमा अक्सिजन पाउन मुस्किल हुने देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना नै निकालेर संक्रमणको दर रोक्न नसके केही दिनमा नै अस्पतालमा विरामी राख्ने ठाँउ नहुने भन्दै चेतावनी समेत दिएको छ ।

संक्रमण निकै चुनौती पूर्ण वढ्दै गएका कारण अब नियन्त्रण गर्न नसकिने अवस्था नै पुगिसकेको छ । भाइरस गत बर्षको भन्दा निकै डरलाग्दो रुपमा फैलिएका कारण संक्रमणले नियन्त्रण वाहिर पुग्ने संकेत देखिएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा संक्रमणको दर बढ्दा सरकारले कडाइ गराउन भने उदासी देखाइरहेको छ । स्वास्थ्य मन्त्रालयले लकडाउन गराउन सिफारिस गरेता पनि प्रधानमन्त्री स्वय नै लकडाउन गराउनु नपर्ने अडानमा हुनुहुन्छ ।

मन्त्रालयका एक कर्मचारी सरकार लकडाउनको नाम समेत सुन्न नचाहेको बताउँछन् । सर्वसाधारणसँगै सरकार समेत जिम्मेवार नवन्दा संक्रमणले निकै क्षति पुर्‍याउने त्रास बढाएको छ ।