२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


मनाङका कैदी बन्दीको दैनिकी कष्टकर, सरकारी रकमले खर्च धान्नै धौ धौ


0
Shares

-नवीनराज कुइँकेल/ईमेज

मनाङ । सरकारले दिने सिदाबापतको रकम र रासन कम हुँदा मनाङका कैदीबन्दीलाई बिहान बेलुकाको छाक टार्न समस्या पर्ने गरेको छ ।

जसका कारण बढ्दो महङ्गीले हिमाली जिल्ला मनाङका कैदीबन्दी सकसमा पर्दै गएका छन् ।

मनाङ कारागारमा ७ जना कैदीबन्दी छन् । अदालतको फैसलापछि कारागार पुगेका कैदी बन्दीलाई सरकारले दैनिक ६० रुपैयाँ र ७ सय ग्राम चामल उपलब्ध गराउँदै आएको छ ।

तर सरकारले दिएको चामाल र पैसाले विहान बेलुकीकै छाक टार्न मुस्किल हुने गरेको कैदीबन्दीको दुखेसो छ ।

दैनिक उपभोग्य सामाग्री नुनतेल, मसला, दाउरालगायतका सामान किन्न सरकारले दिने रकमबाट नपुग्ने उनीहरु बताउँछन् ।

हिमाली र दुर्गम जिल्ला सरकारी कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउने गरेको छ ।

तर ७७ जिल्लामा समान सिदा उपलब्ध गराउँदा हिमाली जिल्ला मनाङका कैदीबन्दी समस्यामा परेका हुन् । दुर्गम र महङ्गी हेरेर सिदा रकम बृद्धि गर्नुपर्ने अर्का कैदीबन्दीको माग छ ।

सरकारले दिने सिदा कम हुँदा कैदी–बन्दीलाई समस्या भएको कारागार प्रशासनले पनि स्वीकार गरेको छ ।

सरकारी सिदा अपुग भएपछि कतिपयले घरबाट खर्च मगाएर गुजारा चलाउँदै आएका छन् ।

केहीले कारागारभित्रैबाट ऋणको भारी बनाएका छन् । सरकारी सुविधा अपुग भएपछि कैदीबन्दीहरु ऋण खोजेर गुजारा चलाउने गरेको कारागारका जेलर शैलेन्द्र कुमार चौधरी बताउँछन् ।

बाह्रै महिना चिसो हुने मनाङमा सरकारी सिदाले दाउरा किन्न पनि अपुग हुन्छ ।

दुर्गम भत्ता लिएका कर्मचारीलाई त मनाङको महङ्गीले पिरोल्छ भने ६० रुपियाँको सिदा कैदीबन्दीलाई हात्तीको मुखमा जिरा जस्तै भएको छ ।