२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


महरालाई अदालतमा उपस्थित गराइयो


0
Shares

काठमाडौं, असोज २८ । बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । प्रहरीले महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरिएको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्रेको थियो ।

जिल्ला अदालत काठमाडौंको अनुमतिमा प्रहरीले असोज १९ गते महरालाई पक्राउ गरेको थियो । दश दिन प्रहरी हिरासतमा रहेका उनलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो ।

महरालाई अनुसन्धानका लागि थुनामा राखेपनि यो बीचमा दशैं र अरु सार्वजनिक बिदा परेकाले अदालतमा उपस्थित गराउन ढिलो भएको हो ।

प्रहरी हिरासतमा रहेका महराको मुटु र स्वाशप्रस्वासमा समस्या देखिएपछि गत विहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई त्यहीबाट अदालत लगिएको हो ।

असोज १२ गते राति आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका छन् भने सांसद पद पनि निलम्बनमा परेको छ ।