
टोकियो, असोज २७ । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
जापानको राष्ट्रिय प्रसारण संस्था ‘एनएचके’ले सोमबार अबेर दिएको जानकारीअनुसार मृत्यु हुनेको संख्या अझ बढ्ने देखिएको छ ।
खोजी तथा उद्धारकार्य जारी रहेको र कैयौं व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्नसक्ने अनुमान गरिएको अधिकारीहरूले जनाएका छन् ।
उनीहरूले विनाशकारी आँधीपछि अझै १५ जना अहिलेसम्म पनि बेपत्ता रहेको जानकारी दिएका छन् ।
आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ ।
आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदीकिनाराका घर डुबानमा परेका छन् ।
आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ ।
आँधीका कारण तीनओटा खेल रद्द भइसकेका छन् । तर, जापान र स्कटल्यान्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले बताएका छन् ।
आँधीको बखत सेना, प्रहरी र दमकलकर्मीहरू परिचालित भइरहेका छन् ।
जापानको रक्षा मन्त्रालयले सोमबार बिहानसम्म करिब ३१,००० जनालाई उद्धार अभियान सन्चालन गर्नका लागि परिचालन गरिएको जानकारी दिएको छ ।
आँधी कम भएपनि नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीले बताएका थिए ।
जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकोप्टरको प्रयोग गरिरहेका छन् । मानिसले घरका झ्याल र कौसीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ ।
नागानोमा एउटा ‘बुलेट’ रेल माटोमा गाडिएको अवस्थामा आधामात्र देखिएको दृश्य टेलिभिजनहरुले सोमबार पनि प्रसारण गरेका छन् ।
हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो ।
प्रतिघन्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ । रासस/एएफपी/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्