Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


२५ वर्ष मुनिलाई कोरोना प्रभाव हुने भएकाले विद्यालय बन्द गरियो– शिक्षा मन्त्री श्रेष्ठ


0
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्ष मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताउनुएको छ ।

ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले २५ वर्ष भन्दा मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठन पाठनलाई अनलाइन माध्यमबाट गर्नेगरी वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताउनुभयो ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्ने निर्णय गरेको थियो । यस्तै बैठकले रात्रीकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्र वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरूलाई विद्यालयमा भौतिक रूपमा आउन अनिवार्य नगरे पनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताउनुभयो ।

मन्त्री श्रेष्ठले कुनै पनि तहको परीक्षा नरोकिने पनि स्पष्ट पार्नुभयो । असारदेखि नयाँ शैक्षिक सत्र सुरु हुने उहाँको भनाइ छ ।