Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


म प्रधानमन्त्री पदका लागि लालायित छैन– कांग्रेस सभापति देउवा


0
Shares

काठमाडौं, बैशाख ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको दोहोर्‍याउनुभएको छ ।

आइतबार विहान आफ्नै निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको प्रष्ट गर्नुभएको हो ।

तर परिस्थितिले नेतृत्व गर्नैपर्ने अवस्था सृजना भए पछि नहट्ने भन्दै उहाँले नेकपा (माओवादी केन्द्र) ले ओली सरकारलाई दिएको समर्थन फिर्ता नगर्दासम्म बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि बताउनुभयो ।

देउवाले भन्नुभयो, ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिएको छैन । त्यसमानेमा अहिले बहुमतकै सरकार छ । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन । त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन ।’

प्रधानमन्त्री चाहियो भनेर मरिनमेट्ने भन्दै देउवाले भन्नुभयो, ‘तर राजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौँ ।’

वर्तमान राजनीति तरल रहेकाले यस्तै हुन्छ भनेर किटानी गर्न नसकिने उहाँको भनाइ थियो ।