
इस्लामावाद, साउन १० । पाकिस्तानमा बुधबार सम्पन्न संसदीय निर्वाचनको मतगणनामा भइरहेको छ ।
बेलुका ६ बजे मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु भए पनि आधारातसम्म कुनै पनि स्थानको आधिकारिक नतिजा घोषणा नहुँदा भने निर्वाचन आयोगले आलोचनाको सामना गर्नुपरेको छ ।
षड्यन्त्र र धाँधलीको आरोपका बीच निर्वाचन आयोगले बिहीबार बिहानसम्म एक ठाउँको नतिजामात्र सार्वजनिक गरेको छ । घोषित नतिजाअनुसार रावलपिंडीबाट पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका उम्मेदवार मोहम्मद अदनान विजयी भएका छन् ।
प्रमुख निर्वाचन आयुक्त सरदार रजा खानले भने आलोचनाको खण्डन गर्दै प्रविधि, सुरक्षा र मौसमका कारण नतिजा सार्वजनिकमा ढिलाई भएको बताएका छन् ।
जारी मतगणनामा पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीले अग्रता बनाएको छ । दोस्रो स्थानमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग रहेको छ । शरीफले जारी मतगणनामा देखिएको परिणामलाई अस्वीकार गरेका छन् ।
पाकिस्तान मुस्लिम लिगले चुनावी मत परिणाममा षड्यन्त्र भएको आरोप लगाएको छ । उसले अन्य पार्टीहरुसँग मिलेर यो मुद्दालाई अघि बढाउने चेतावनी दिएको छ ।
तर, निर्वाचन अधिकारीहरुले भने मत परिणाममा षड्यन्त्र गरिएको आरोपको खण्डन गरेका छन् । मत गणनामा अग्रता कायम गरेपछि पाकिस्तान तहरीक–ए–इन्साफका कार्यकर्ताले देशभर खुसीयाली मनाउन थालेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्