२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


अमर प्रहरीका परिवारमा रुवाबासी


0
Shares

काठमाडौं, असोज २४ । ६४औं प्रहरी दिवसका अवसरमा अमर प्रहरीको स्मारकमा पुष्पगुच्छा अर्पण गर्नेक्रममा कर्तव्यपालनकाक्रममा ज्यान गुमाएकाका परिवारजनमा रुवाबासी चल्यो ।

शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा लाइनबद्ध भएर अमर प्रहरीको स्मारकमा पुगेका दिवंगत प्रहरीका परिवारजनले स्मारकनजिक पुग्दा आँसु थाम्न सकेनन् ।

आफन्तको रुवाइका कारण त्यहाँ उपस्थित अधिकांशको गला अवरुद्ध भएको थियो ।

सोही पीडादायी क्षणलाई नजिकबाट नियालिरहेका प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले हरेक वर्ष मनाउँदै आएको प्रहरी दिवसमा उत्साह र उमंगको माहोल हुनुपर्नेमा पीडाबोध भएको बताउँदै अमर प्रहरी दिवस र नेपाल प्रहरी दिवस छुट्टा–छुट्टैरुपमा मनाउन नेपाल प्रहरीलाई सुझाव दिए ।

६४औं प्रहरी दिवसका अवसरमा यो वर्षमात्रै २९ जना प्रहरीलाई सहिद घोषणा गरिएको थियो ।

सोही समारोहमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र्र खनालले यही वर्षदेखि सहिद प्रहरीका परिवारका एक छोरीको विवाह खर्चवापत् ३० हजार उपलब्ध गराउने र अशक्त परिवारको एकजना बच्चालाई ६ देखि १२ कक्षासम्म निःशुल्क पठनपाठन गराउने जानकारी गराए ।

दिवसका अवसरमै अमर प्रहरीका परिवारलाई आर्थिक सहयोग तथा कदरपत्र प्रदान गरिएको थियो ।