Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


तीन दिनभित्र ओली सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ– नारायणकाजी श्रेष्ठ


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले तीन दिनभित्र केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता हुने बताउनुभएको छ ।

ईमेज टेलिभिजनको कार्यक्रम ‘हट सिट’मा कुराकानी गर्दै नेता श्रेष्ठले ओली सरकारलाई आफूहरूको समर्थन नरहेको र देखिएको प्राविधिक समर्थन पनि तीन दिनभित्र फिर्ता लिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक सातासम्म पनि जाँदैन, दुई–तीन दिनभित्रै हामीले निर्णय गर्छौं ।’

श्रेष्ठले निर्णायक शक्ति मानिएको जसपाको निर्णय धैरै दिन कुर्न नसक्ने बताउँदै छिट्टै एउटा निर्णय गर्नुपर्ने टिप्पणी गर्नुभयो । ‘हामी अन्तिम पटक भन्दैछौं, जे निर्णय गर्नुपर्छ गर्नुस्,’ उहाँले भन्नुभयो, ‘अब पनि केही दिन भित्र निर्णय गर्नुभएन भने, निर्णय नगरेको स्थितिलाई हामीले निर्णय मान्छौं ।’

कार्यक्रममा प्रवक्ता श्रेष्ठले केपी ओलीको विकल्पमा नयाँ सरकारको गृहकार्य भइरहेको पनि बताउनुभयो । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले पनि निर्णय लिइसकेको अवस्थामा जसपाले धेरै कुराउन नहुने उहाँको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले पछिल्लो समय नेपाल विदेशीहरूको चरम हस्तक्षेपको क्रिडास्थल बनेको टिप्पणी गर्नुभयो । देशलाई विदेशीहरूको चरम हस्तक्षेपको क्रिडास्थल बनाउन प्रधानमन्त्री ओली लागि परेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘विदेशीलाई क्रिडास्थल बनाउने मुख्य गोटी केपी ओली बनिरहेका छन् ।’