
शिवहरी भट्टराई
सप्तरी, असोज १७ । नवरात्री सुरु भएसँगै सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । धार्मिक र ऐतिहासिक महत्वको यो मन्दिरमा दर्शन र पूजाअर्चना गरेमा सबै मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ ।
प्राचीन किंवदन्तीअनुसार ११ औँ शताब्दीमा सिम्रौनगढका राजा शक्रसिंह देवले गद्दी त्याग गरी सप्तरीमा गई बस्दा जंगल सफा गर्ने क्रममा भगवतीको मूर्ति भेटेको र त्यसलाई कुलदेवीको रुपमा शक्रेश्वरी स्थापना गरेको पाइन्छ । शक्रेश्वरी देवीको शीर नभएकोले पछि छिन्नमस्ता भगवती भन्न थालिएको इतिहास भेटिन्छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सखडेश्वरी छिन्नमस्ता शक्तिपीठमा घटस्थापनादेखि टीकाको दिनसम्म भव्य मेला लाग्ने गर्दछ । जहाँ सप्तरी, सिरहा, सुनसरी, धनुषा, मोरङ, उदयपुर लगायत नेपाल तथा भारतको बिहार राज्यबाट श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।
शक्तिपीठमा वैदिक, ज्योतिष तथा तान्त्रिक पद्धतीबाट पूजाआजा हुने मन्दिरका पीठाधीश महाकान्त ठाकुर बताउँछन् ।
छिन्नमस्ता मन्दिरलाई मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्येको एक मानिएकोले नेपाल र भारतका भक्तजनहरूको बोका, भेंडा, परेवा, हाँस र माछासहित भक्तजनको दिनहुँ घुइँचो लाग्ने गर्छ । अन्य समयमा यहाँ दैनिक ५० भन्दा बढी बली चढाइन्छ भने दशैँको बेलामा त हजारौँ बोका भेडा परेवा हाँस र माछाको बली चढाइन्छ । साथै मनोकामना पुरा भएकाहरुले त अझ पञ्चबली समेत गर्छन् । यसरी यस मन्दिरमा सरदरमा वर्षेनि ३० हजारभन्दा बढी बली चढाइन्छ ।
अर्कोतिर दशैँको पावनताका अवसरमा यस्ता निर्दोष, निरीह र निरुपाय पशुपक्षीको क्रुर बध गर्नु सभ्य र सुसंस्कृत समाजको परिचायक नभएको भन्दै कतिपयले आलोचना समेत गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्