
काठमाडौं, चैत २६ । नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशीको ८३ औं जन्म जयन्तीको अवसरमा उहाँको नयाँ खण्डकाब्य ‘हेल्चा’ सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको महाकवि जोशीको कृतित्व र ब्यक्तित्व विचार गोष्ठीमा काब्य विमोचन गर्दै प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले यस काब्यको नेपाली रुपान्तरित पुस्तक चाँडै प्रकाशन गर्ने बताउनुभयो ।
महाकवि गिरिजाप्रसादले ४९ बर्षको आफ्नो जीवनकालमा महाकाब्य, खण्ड काब्य, काब्य, छोटो लामो कविता, उपन्यास, कथा, गीत, नाटक, समालोचना, चलचित्रलगायतका विविध विधामा ७० वटाभन्दा बढी पुस्तकहरु सृजना गरेको प्रतिष्ठानको पं्रकाशन ‘थायभु’ का सम्पादक सदस्य शरद कसाःले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ ।
उहाँले लेखेको महाकाब्य ‘ल्वहंमा’ प्रचलित महाकाब्यहरुभन्दा फरक आजका मानिसका कथा भएको संसारकै पृथक महाकाब्य हुन सक्ने चर्चा गर्दै उहाँले साहित्यिक क्षेत्रमा रहेका चलन र पारिपाटी नाघेर सृजना गरेका कृतिहरुको समेत चर्चा भएको थियो ।
पेशाले शिक्षक प्राचीन नगर साँखुका वासिन्दा महाकवि गिरिजाप्रसादले तत्कालिन ब्यवस्थाको अन्यायविरुद्ध साहित्यको माध्यमबाट जनपक्षीय विचार प्रवाह गरिरहनु भयो । यी गतिविधि रोक्न ३६ सालमा ज्यान मुद्दा लगाएर फसाउने प्रयत्न समेत भएका थिए ।
नयाँ नेपालका लागि जागरण ल्याउने महाकवि जोशीको योगदान रहेको तथा विभिन्न संघसंगठन, पुस्तकालय स्थापना, भित्ते पत्रिकामा प्रचलनमा ब्यापकता ल्याउनुका साथै युवा पुस्ता, कृषक, विपन्न, पिछडिएको ब्यक्तिका आवाजका रुपमा सबैलाई प्रेरित गरिरहनुभयो ।
महाकविले आफ्नो प्रभावशाली सृजना आफ्नै मातृभाषा नेपालभाषाबाट गर्नुभयो । आफ्नो भाषा त्यागेर अरुको भाषा अंगाल्नु अनैतिकता हो भन्ने विचार उहाँको थियो । रुपान्तर गर्दा समेत कुन भाषाबाट सृजित कृति हो उल्लेख गर्नुपर्ने धारणा उहाँको थियो ।
विचार गोष्ठीमा कविहरु कृष्णभक्त बोडे, नारद बज्राचार्य, रमेशकाजी स्थापित, रजनी मिला, सुरजवीर बज्राचार्यले उहाँको कविता वाचत गर्नुभएको थियो किरण साय्मिले महाकवि गिरिजाप्रसादद्वारा सृजित गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा समालोचक पूर्ण ताम्रकारले प्रस्तुत कार्यपत्रमा टिप्पणी गर्नुहुँदै महाकविको ब्यक्तित्वबारे थप प्रकाश पर्नुभएको थियो । साहित्यकार नारायण ढकालले महाकविको ब्यक्तित्वबाट आफै निकै प्रभावित भएको उल्लेख गर्नुहुँदै नेपालभाषा सिक्न नसकेकोमा दुःख ब्यक्त गर्नुभयो । प्रतिष्ठानका सदस्य लक्ष्मी मालीको संयोजकत्वमा भएको गोष्ठी प्रतिष्ठानका उपकूलपति जगमान गुरुङको सभापतित्वमा भएको थियो ।
गोष्ठीमा महाकवि जोशीको ८३ औं जन्म जयन्तीको अवसर पारेर इञ्जिनियर राजदास श्रेष्ठले विराट नेपालभाषा साहित्य सम्मेलनलाई ८३ हजार सहयोग हस्तान्तरण गनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्