२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


सरकार र प्रतिपक्षीबीच संघर्ष चर्कने संकेत (भिडियो)


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, साउन ९ । सरकार र प्रतिपक्षी दलबीच आगामी दिनमा झन् द्वन्द्व बढ्ने देखिएको छ ।

पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ दलका नेताहरुको अभिव्यक्ति र प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध घोषणा गरेको आन्दोलनले सरकार र विपक्षीबीच थप संघर्ष चर्कने देखिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलापविरुद्ध भन्दै सडक आन्दोलन थालेपछि सरकार कांग्रेसविरुद्ध कडारुपमा प्रस्तुत् हुने संकेत गरेको छ ।

सरकार गठन भएको ६ महिना नपुग्दै प्रतिपक्षी दल कांग्रेसले सरकारका काममा बाधा पुर्‍याउन षड्यन्त्र गरेको सत्तापक्षको बुझाइ छ ।

सरकारलाई असफल पार्न प्रतिपक्षीले एजेन्डा बन्न नसक्ने विषय पनि एजेन्डा बनाएर अवरोध गर्न खोजेको सत्तापक्षको ठहर छ ।

सरकारका काममा कांग्रेसले बाधा गर्न खोजेको भन्ने बुझेका प्रधानमन्त्री ओली र सत्तारुढ दलका नेताहरुले सार्वजनिकरुपमै प्रतिपक्षीविरुद्ध कडारुपमा प्रस्तुत् हुने अभिव्यक्ति दिन थालेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारविरुद्ध षड्यन्त्र सुरु भएको दाबी गर्दै षड्यन्त्र सफल हुन नदिने चेतावनी दिएका छन् ।

तर, प्रतिपक्षी दल कांग्रेसले भने निरंकुश शैली र गलत बाटो समातेको सरकारलाई सही बाटोमा ल्याउन आन्दोलन सुरु गरेको जिकिर गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार संविधान, कानुन र विधिसम्मतरुपले अघि नबढेसम्म आन्दोलन जारी रहने बताए ।

कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने र सरकारले निरंकुश शैली त्याग्नुपर्ने र डा. गोविन्द केसीले राखेका मागको समर्थन गर्दै संसद र सडक आन्दोलन गरिरहेको छ ।

गत शनिबार नयाँबानेश्वरमा कांग्रेसको भ्रातृसंगठन तरुण दलको प्रदर्शनमा प्रहरीले दमन गरेपछि थप आक्रामक बनेको कांग्रेस सरकारविरुद्धको आन्दोलन थप चर्काउने रणनीतिमा छ ।

भिडियो हेर्नुहोस्