१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध


0
Shares

काठमाडौं, साउन ९ । राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै अनशन बस्दै आएका डा. गोविन्द केसीको माग पूरा नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध गरेको हो ।

बैठकको सुरुमै कांग्रेसका तर्फबाट सांसद बद्री पाण्डेले केसीका माग पूरा नभएसम्म बैठक चल्न नदिने बताए । उनले केसीको अवस्था चिन्ताजनक भएपछि बल्ल सरकार बिउँझिएको भन्दै दुई तिहाईको दम्भमा शासनको सपना नदेख्न सचेत गराए ।

बंगलादेश पढ्न जाने छात्राबारे आपत्तिजनक टिप्पणी गरेर कानुनमन्त्रीले विद्यार्थी र तिनका अभिभावकमाथि प्रताडना दिएको भन्दै पाण्डेले गल्ती स्वीकारेर राजीनामा गरेकामा भने स्वागत गरे । उनले योभन्दा आपत्तिजनक अभिव्यक्ति दिने दुर्गा प्रसाईंलाई पनि कारबाही गर्न माग गरे ।

सत्ता पक्षका सांसद रामनारायण बिडारीले विपक्षीको अवरोध नियमविपरीत भएको भन्दै आपत्ति जनाए ।

अवरोधपछि बैठक १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभामा पनि कांग्रेसले केसीको मुद्दा सम्बोधन गर्न माग गर्दै अवरोध गरेपछि साउन ३ गतेपछि एकैपटक ११ गतेलाई बैठक बोलाइएको छ ।