१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


के हो यौन दुर्व्यवहार ? के भन्छ कानुन ? कसरी भराइन्छ क्षतिपूर्ति ?


429
Shares

काठमाडौं, असोज १४ । अपराधसम्बन्धी कर्तूतको दण्ड व्यवस्था गर्न बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४ गएको वर्षदेखि नेपालमा लागु भएको छ । यसअघि मुलुकी ऐनमा नै फौजदारी र देवानी दुबै प्रकृतिको मुद्दाको दण्ड व्यवस्था गरिएको थियो । 

२०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा यौन दुर्व्यवहारकाबारेमा उल्लेख गरिएको छ । अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूर र त्यसको दण्ड व्यवस्था अन्तर्गत दफा २२४ मा यौन दुर्व्यवहार के हो ? र के गरिएको अवस्थामा के कति दण्ड सजाय हुने भन्ने प्रष्ट गरिएको छ । 

दफा २२४ मा यौन दुर्व्यवहार गर्न नहुने भन्दै उपदफा (१) मा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउनु हुँदैन भनिएको छ । 

उपदफा (२) मा कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्या्दित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिनेछ ।

(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ । 

दफा २२५ मा भने बालयौन दुरुपयोग गर्न नहुने उल्लेख गरिएको छ । जसको उपदफा (१) मा कसैले बालयौन दुरुपयोग गर्न वा गराउन हुँदैन भनिएको छ । 

उपदफा (२) मा कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ ।

दण्ड सजायका सम्बन्धमा भने कानुनमा यसरी व्यवस्था गरिएको छ । यसै दफाको उपदफा (३) मा उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

२२६. अप्राकृतिक मैथुन गर्न नहुनेः (१) कसैले कसैको मञ्जुरी विना अप्राकृतिक मैथुन गर्नु वा गराउनु हुँदैन । स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि बालबालिकाले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(३) बालबालिका बिरुद्ध उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दफा २१९ बमोजिम सजाय हुनेछ ।

२२७. पशु करणी गर्न नहुनेः (१) कसैले पनि पशु करणी गर्नु वा गराउनु हुँदैन ।(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई गाईको करणी गरे वा गराएको भए दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँँँसम्म जरिबाना र अन्य पशु करणी गरे वा गराएको भए एक वर्षसम्म कैद र दश हजार रुपैंयाँसम्म जरिबाना हुनेछ ।

२२८. क्षतिपूर्ति भराई दिनु पर्नेः दफा २२० र २२७ अन्तर्गतको कसूर बाहेक यस परिच्छेद बमोजिमको अन्य कसूरबाट पीडित व्यक्तिलाई कसूरदारबाट मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।

तर कसूरदारको कुनै सम्पत्ति नभई जबरजस्ती करणीको कसूरबाट पीडितले क्षतिपूर्ति नपाउने देखिएमा र प्रचलित कानून बमोजिमको पीडित राहत कोष स्थापना भइनसकेको अवस्थामा अदालतले नेपाल सरकारको महिला तथा बालबालिका विषय हेर्ने निकायको नाममा क्षतिपूर्ति स्वरुप उचित रकम पीडितलाई भराइदिने गरी आदेश गर्न सक्नेछ र त्यसरी आदेश भएमा सो कार्यालयबाट क्षतिपूर्ति बापतको रकम तत्काल पीडितलाई उपलब्ध गराउनु पर्नेछ । 

२२९. हदम्यादः (१) दफा २२० अन्तर्गतको कसूरमा जहिले सुकै पनि उजुर गर्न सकिनेछ ।

(२) दफा २१९, २२१, २२२, २२३, २२४, २२५ र २२६ को उपदफा (३) अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले एक वर्ष्भित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।

तर थुनामा रहेको वा नियन्त्रणमा लिएको वा अपहरण गरेको वा शरीर बन्धक लिएको व्यक्ति विरुद्ध कसूर भएकोमा थुना, नियन्त्रण अपहरण वा शरीर बन्धकबाट मुक्ति पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।