काठमाडौं, चैत १९ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताद्धय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नुभएको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गर्नुभएकोमा नेकपा एमाले नेता घनश्याम भुसालले (असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ ।( भन्नुभएको छ ।
एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुसालले जवाफ दिएका थिएनन् ।
फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिए पछि उनीहरुले त्यसको जवाफ १७ गते दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको भन्दै एमालेले कारबाही गर्ने निर्णय गरेको हो ।
यसअघि ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि निलम्बन गर्नुभएको थियो । अहिलेकै गतिविधि जारी रहे थप कडा कारवाही हुन सक्ने भएकाले सच्चिनका लागि अन्तिम मौका दिइएको निलम्बन पत्रमा उल्लेख छ ।
फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँताइदिएको थियो । एमाले व्यूँतिएलगत्तै अध्यक्ष समूहले नेपाल पक्षमा केन्द्रीय सदस्यलाई नबोलाई एकलौटी निर्णय गरेपछि नेपाल समूहले पनि समानान्तर कमिटी गठन थालेको छ ।
माधवकुमार नेपाल समूहले बुधबार काठमाडौंमा युवा संघको छुट्टै कार्यालय स्थापना गर्नुभएको थियो भने बिहीबार कास्कीमा समानान्तर कमिटी गठन गरिसकेको छ । कास्कीको समानान्तर कमिटी बनाउन माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे पोखरा जानुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्