२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024


‘सी’ विचारधाराबारे कांग्रेसको आपत्ति : अमेरिका र भारतको चासो (भिडियो)


0
Shares

काठमाडौं । सत्तारुढ नेकपाले चिनियाँ राष्ट्रपति सि जिङ फिङको विचारधार बोक्ने सम्झौता गरेपछि नेपाली राजनीतिमा नयाँ तरङ पैदा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा त्यस्तो सम्झौता भएपछि विपक्षी नेपाली काँग्रेसले त आपत्ति जनाएको छ,अन्य शक्ति राष्ट्रहरुले समेत यो विषयलाई सहजै नलिएको संकेत देखिएको छ ।

अघिल्लो हप्ता चिनियाँ नेताहरुले सत्तारुढ नेकपाका नेताहरुलाई प्रशिक्षण दिंदै चिनियाँ मोडलको समाजवाद र राष्ट्रपति सीको विचारधाराबारे व्यख्या गरे ।

सो लगत्तै चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच सी विचारधारा अनुसरण गर्ने लगायतका सात बुँदे सहमतिमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा हस्ताक्षर भयो । नेकपाले यो सहमतिलाई चिनियाँ मोडलमा मुलुकको विकासका लागि कोषेढुंगा नै सावित हुने गरी व्यख्या गर्‍यो ।

सहमतिपछि यस बारेको टिप्पणीले मुलुकको राजनीतिलाई राम्रैसँग तताइदिएको छ । विपक्षी काँग्रेसले सरकारकै उपस्थितिमा कुनै विचारधारा बोक्ने विषय मान्य हुन नसक्ने बताएको छ ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पोडेलले पार्टी पार्टीबीचको सहमति आफूहरुका लागि चासोको विषय नभए पनि बहुदलिय निर्वाचन प्रणालीबाट सत्तामा पुगेको नेकपाले कम्युनिष्ट राज्य भए जसरी अर्को कुनै मुलुकको शासकीय व्यवस्था अनुसरण गर्छु भन्नु आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् ।

सत्तारुढ दलले कुनै नेताको विचार अनुसरण गर्नका लागि सहमति गरेको विषय स्वदेशी दलका लागि मात्र नभइ, विदेशी शक्ति राष्ट्रका लागि समेत चासोको बनिदिएको छ । भेनुजुयला, इन्डो प्यासेफिक प्रकरणदेखि नै सत्तारुढ दलसँग चिढिएको अमेरिकाले यस विषयमा नेपाली नेताहरुसँग गम्भीर चासो राखेको छ ।

यस्तो सहमति भएको दुई दिन पछि अर्थात गत बिहीबार नेपालका लागि अमेरिकी राजदुत र्‍याण्डी बेरीले विपक्षी दलका नेता काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई भेटी कुनै व्यक्तिको विचार राज्यले बोक्ने विषयका बारेमा गम्भीर चासो राखेको स्रोतको भनाई छ ।

अर्को मित्रराष्ट्र भारतले पनि यो सहमतिलाई त्यति मिठासपूर्ण रुपमा नलिएको संकेत गरिसकेको छ ।

कांग्रेस वरिष्ठ नेता पौडेल बहुदलीय व्यवस्था भएको मुलुकमा सरकारकै उपस्थितिमा कुनै वाद र विचार बोक्ने विषयमा अन्य मुलुकको पनि चासो बढेको स्वीकार गर्छन ।

मुलुकको सार्वभौमिकता र पञ्चशिलताको आधारमा तय भएको परराष्ट्र नीतिमाथि नै प्रश्न उठ्ने गरी हुने कामका विरुद्ध काँग्रेस खरो रुपमा उत्रने चेतावनी दिन्छन् ।

भुपरीवेष्टित हुनुका नाताले नेपालका केही आफ्नै बाध्यता छन् । विश्वका थुप्रै मलुकहरु नहुँदा पनि आफ्नो स्वतन्त्र र सार्वभौम परिचयबाट स्थापित नेपालले कुनै वाद, विचार र दलीय आस्थाबाट प्रभावित नभई आफ्नो विकासका निम्ति राष्ट्रिय स्वर्थलाई मात्र केन्द्रमा राखी सबै राष्ट्रहरुसँगको सम्बन्धलाई समदुरीमा राख्नु अपरिहार्य छ ।