
-दुर्गा उपाध्याय/ईमेज
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहोर व्यवस्थापन हुन सकेको छैन ।
नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा नगरपालिका परिसर डम्पिङ साइटजस्तै बनेको हो ।
कञ्चनपुरको सबैभन्दा पुरानो र बढी आम्दानी भएको भीमदत्त नगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकिरहेको छैन ।
फोहोर व्यवस्थापनका नाममा वर्षेनी करोडौ खर्च भइरहे पनि ‘ल्याण्ड फिल्ड’को व्यवस्थापन गर्न नसक्दा नगर क्षेत्रका स्थानीय सास्ती खेप्न बाध्य भएका छन् ।
ग्रिन सिटी क्लिन सिटी’ बनाउने लक्ष्यका साथ सरसफाइका कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाको परिसर डम्पिङ साइटजस्तै बनेको हो ।
दीर्घकालिन रुपमा फोहर व्यवस्थापन गर्न नसकेपछि नगरपालिकाले आफ्नै परिसरलाई डम्पिङ् साइटको रुपमा प्रयोग गर्न थालेको हो ।
नगरपालिकाबाट निस्कने दैनिक ३ गाडि फोहर केही दिनदेखि नगरपरिसरभित्रै थन्किएको छ ।
यता, नगर क्षेत्रलाई सफा र स्वस्थ बनाउने अभियान थालेको नगरपालिकाले नै प्रदूषण फैलाएपछि स्थानीय मात्रै होइन कर्मचारीले समेत फोहर हटाउन आग्रह गरेका छन् ।
फोहर हटाउनका लागि पटक पटक लिखित रुपमा पत्र दिएपनि सुनुवाई नभएको बताउदै छोराछोरीको पालनपोषणका लागि बाध्य भएर काम गर्न परेको नगर प्रहरी उद्धव बहादुर चन्दको भनाइ छ ।
फोहोर व्यवस्थापनका लागि ३५ जना कर्मचारी राखिएको छ र वार्षिक १ करोड रुपैयाँभन्दा बढीको खर्च हुने गरेको छ ।
फोहोर व्यवस्थापनकै लागि एडिबिले ५७ करोड रुपैयाँ छुट्याएपनि नगरपालिकाले हालसम्म ‘ल्याण्ड फिल्ड’को व्यवस्थापन गर्न सकिरहेको छैन ।
यसअघि, नगरपालिकाले फोहरलाई खाल्डोमा पुर्ने शर्तमा स्थानीयको जमिनमा फोहर व्यस्थापन गर्दै आएको थियो ।
तर, फोहर फालेर लामो समयसम्म पनि खाल्डो नपुरेको भन्दै गाउँलेले अवरोध गरेपछि अहिले नगरपरिसरलाई डम्पिङ् साइटको विकल्पका रुपमा नगरपरिसरमै राखिएको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्