नेपालगञ्ज । धम्बोझी क्लब लुम्बिनी प्रदेशले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा कर्णालीको लेकाली युवा क्लबलाई ३–१ ले पराजित गरेको छ । शनिबार नेपालगञ्जमा भएको जितसँगै धम्बोझीले लिगको शीर्ष–२ मा पर्न सफल हुँदै राष्ट्रिय लिगका लागि छनोट भएको छ ।
शनिबार नेपालगन्ज रंगशालामा धम्बोझीको जितमा बिसन गुरुङले ३०औं मिनेटमा, गौरब बुढाथोकीले ४४औं मिनेटमा र निसान लिम्बुले ४८औं मिनेटमा गोल गरेका थिए । लेकालीका संजय धिमालले २४औं मिनेटमा गोल गरे । खेलमा धम्बोझीका गौरब बुढाथोकी म्यान अफ द म्याच बन्न सफल भए ।

धम्बोझीले ६ खेलमा ४ मा जित २ मा हारको सामना गर्दै १२ अंक जोडेको छ । लेकालीले ६ खेलमा ५ मा हार र १ बराबरीमा खेल्दै १ अंकमात्र जोडदै अंक तालिकाको पुछारमा छ । एक खेल अगावै सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली १३ अंक सहित लिग च्याम्पियन बनिसकेको छ ।
गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब ९ अंक सहित तेस्रो स्थानमा छ । आइतबार लिगको अन्तिम दिन स्टार सिटीले त्रिवेणी युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्रिवेणीले उक्त खेल जितेपछि हेडटु हेडका आधारमा धम्बोझी शिर्ष–२ मा पर्ने पक्का भएको हो ।
आइतबार लिगको अन्तिम दिनको पहिलो खेलमा सैनिक युवा क्लब झापा र मनकामना युवा क्लब रौतहटबिच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा स्टार सिटी र त्रिवेणीबिच प्रतिस्पर्धा हुनेछ ।





प्रतिक्रिया दिनुहोस्