
काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय समितिको बैठकले आफ्नो हिरक जयन्तीलाई संगठन निर्माण तथा सुदृढीकरण वर्षको रूपमा मनाउने निर्णय गरेको छ ।
चैत्र १२ र १३ गते काठमाडौंमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोईराला संस्थापक अध्यक्ष रहेको ट्रेड युनियन कांग्रेस गत फागुन २१ गते ७५ वर्ष पुगेको छ ।
बैठकले २०७८ साललाई संगठन विस्तार र सुदृढीकरणको वर्ष बनाउने निर्णय गरेका हो । केन्द्र, प्रदेश एवं आवद्ध संघहरूलाई थप सुदृढ गर्दै ७ सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियनको संरचना विस्तार गर्ने निर्णय गर्नुकासाथै प्रदेश समितिलाई परिचालन र समन्वयका लागि उपहासचिवहरू र सहकोषाध्यक्षलाई फोकल पर्सन तोकिएको छ ।
जस अनुसार प्रदेश–१ मा ज्योति कोइराला, प्रदेश २ मा सहकोषाध्यक्ष सुशीला घिमिरे, बागमतीमा राधिका कुईंकेल, गण्डकीमा ईश्वर बहादुर परियार, लुम्बिनीमा गणेश बहादुर केसी, कर्णालीमा राजेश पालिखे र सुदुरपश्चिम प्रदेशमा सिताराम अवस्थी रहेका छन् ।
यसैगरी ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन आगामी जेठ ३० र ३१ गते काठमाडौमा गर्ने निर्णय गर्दै वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवको संयोजकत्वमा मुल तयारी समिति र विधान संशोधन समिति गठन गरेको छ ।
बैठकले श्रमिक, कोरोनाका कारण समस्यामा परेका व्यवसायी र उद्योगीहरूको पक्षमा सशक्त आवाज उठाएर अघि बढ्ने निर्णय गरको छ । बैठकले युनियनको विभिन्न प्राविधिक विज्ञ सल्लाहकारहरु समेत नियुक्त गरेको ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख बलदेव तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्