२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


राप्रपा(संयुक्त)को ठहर : राष्ट्रपतिको भूमिका निष्पक्ष भएन, जनताले पुरानै संस्था खोज्न थाले


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले राष्ट्रपतिबाट निष्पक्ष भूमिका निर्वाह हुन नसकेको टिप्पणी गरेको छ ।

दशै,तिहार,नेपाल सम्वत् र छठको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह गर्नुको सट्टा कुनै एक पार्टीप्रति बफादार देखिएको टिप्पणी गरे ।

उनले राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेकै कारण जनतामा पुरानै संस्थाले निष्पक्ष भूमिका खेल्न सक्छ भन्ने भावना उत्पन्न हुन थालेको जिकिर समेत गरे । अध्यक्ष राणाले जनताले नेकपालाई विश्वास गरेर मत दिएपनि वर्तमान सरकारले जनतालाई धोका दिएको आरोप लगाए ।

अध्यक्ष राणाले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा जनमत सिर्जना गर्न तिहारपछि  जनकपुरदेखि लुम्बिनीसम्मको पहिलो चरणको धार्मिक यात्रा गर्ने जानकारी दिए ।

प्रजातन्त्रमाथि खतराका संकेत देखा पर्न थालेको जिकिर गर्दै उनले प्रजातन्त्र जोगाउन कम्युनिष्ट इतर शक्तिबीच कार्यगत एकता हुनसक्ने धारणा राखे ।

अध्यक्ष राणाले अमेरिका र चीन बीचको तनावका कारण नेपाललगायत दक्षिण एसियामै असर परेकोले परराष्ट्र कुटनीतिमा निकै कुटिल हुन सरकारलाई सुझाव दिए ।

संविधानको प्रस्तावनामै ‘समाजवाद उन्मुख अर्थतन्त्र’ लेखिएकाले सरकारले जति पटक लगानी सम्मेलन गरेपनि आन्तरिक निजी क्षेत्र र वैदेशिक लगानी आउने नसकेको भन्दै राप्रपा संयुक्तले संविधानको प्रस्तावनाबाट समाजवाद उन्मुख अर्थतन्त्र हटाउन माग गरेको छ ।