देउवाले दिए चेतावनी, कम्युनिस्ट पार्टीविरुद्ध कांग्रेसले सिकार गर्छ : गगन • Image Khabar Image Khabar


देउवाले दिए चेतावनी, कम्युनिस्ट पार्टीविरुद्ध कांग्रेसले सिकार गर्छ : गगन


Imagekhabar
११ आश्विन २०७६, शनिबार ११:५२

देउवाले दिए चेतावनी, कम्युनिस्ट पार्टीविरुद्ध कांग्रेसले सिकार गर्छ : गगन

काठमाडौं, असोज ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा एकतन्त्रीय निरंकुश शासन लाद्न खोजे कम्युनिस्टहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन् ।

आउँदो प्रमुख चाडपर्वका अवसरमा कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ले शनिबार नक्सालमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले नेपाली जनताले निरंकुश र एकतन्त्रीय शासनको प्रतिवाद गर्ने चेतावनी दिए ।

कम्युनिस्टहरु प्रजातन्त्रविरोधी भएको प्रमाणित भएको भन्दै देउवाले प्रजातन्त्रको विकल्प अरु हुन नसक्ने पनि बताए ।

उनले जनताको अधिकार रक्षाका लागि चाडबाडलगत्तै आन्दोलन गर्नुपर्ने भएकाले तयारी गर्न पनि निर्देशन दिए ।

उनले कर, भ्रष्टाचार र महँगीको पर्याय वर्तमान ओली सरकार भएको भन्दै जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक भएको आरोप लगाए ।

देउवाले ओली सरकारबाट जनताले मुक्ति चाहेको भन्दै सरकार आफैं पतनको बाटोमा गएको जिकिर गरे ।

नेपाली कांग्रेस एक भए कसैले हराउन नसक्ने भन्दै अन्तर्घातलाई त्यागेर एकजुट हुन पनि उनले कार्यकर्तालाई आग्रह गरे ।

कम्युनिस्टहरु विचारबाट विचलित : शशांक

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शंशाक कोइरालाले कम्युनिस्ट शासनको प्रतिवाद जनता आफैंले गर्न थालेको बताए ।

उनले कम्युनिस्टहरु विचारबाट विचलित हुँदै गएको भन्दै नेपाली कांग्रेसको आदर्श, सिद्धान्तबाट अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।

कम्युनिस्ट पार्टीविरुद्ध कांग्रेसले सिकार गर्छ : गगन

नेपाली कांग्रेसका नेता गगन थापाले आफूलाई सिंहको उपमा दिने कम्युनिस्ट पार्टीविरुद्ध कांग्रेसले सिकार गर्ने बताए ।

कम्युनिस्ट पार्टीले जनताको विरुद्ध कानुन ल्याउन खोजेको भन्दै त्यसको सदन र सडक दुवै ठाउँबाट प्रतिवाद गरिने बताए ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति राजु श्रेष्ठ, तरुण दलका अध्यक्ष जीतजंग बस्नेतलगायतले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्