काठमाडौं, असोज १० । ४०औं विश्व पर्यटन दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
हरेक अंग्रेजी वर्षको सेप्टेम्बर २७ तारिखका दिन विश्वभरि पर्यटन दिवस मनाउने गरिन्छ ।
पर्यटन दिवसले पर्यटन क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने विश्वास गरिन्छ ।
पूर्वसचिव तथा पर्यटनविद् दीपेन्द्रपुरुष ढकाल कुनैपनि देशमा पर्यटन दिवसले उत्साह जगाउने एवं देशको परिचय दिनुका साथै पर्यटकहरुलाई आकर्षित गर्ने बताउँछन् ।
पर्यटनबाट आम्दानी बढाउन सरकारले पर्यटकहरुलाई सेवा–सुविधा उपलब्ध गराउनुपर्ने र त्यसका लागि उनीहरुको बसाइ अवधि बढाउने गरी पर्यटनसँग सम्बन्धित गतिविधिसमेत बढाउनुपर्ने उनको सुझाव छ ।
हिमाल, पहाड, तराई भएको नेपालको भौगोलिक बनावटले पर्यटक तान्नसक्ने र यी क्षेत्रमा भएका गन्तव्यहरुलाई व्यवस्थित बनाउनुपर्ने उनको सुझाव छ ।
पर्यटन विकासका लागि यातायात र हवाई क्षेत्रलाई प्रमुख मान्ने गरिन्छ । नेपालमा हाल एकमात्रै अन्तराष्ट्रिय विमानस्थल रहेको छ । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेका छन् ।
पर्यटन भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहँदा गन्तव्यहरुको प्रचार–प्रसारलाई तीव्रता दिनुपर्ने देखिन्छ ।
नेपालमा २०६५ सालमा पर्यटन नीति ल्याइएपछि पर्यटन क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिइएको थियो ।
२०६५ पछि सरकारले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय गन्तव्य तथा पर्यटकीय सम्पदा संरक्षण, पर्यटकको सुरक्षामा ध्यान दिँदै आएको जनाएको छ । यद्यपि, पूर्वाधार विकासमा भने खासै प्रगति देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्