न्यूयोर्क, असोज १० । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन विभिन्न मुलुकका प्रतिनिधि अमेरिकाको न्यूयोर्कमा पुगिसकेका छन् । विभिन्न मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुखले महासभामा आफ्नो मुलुकको प्रतिनिधित्व गर्दैछन् ।
महासभा बैठकमा सहभागी हुन एकै थलोमा भेला भएको अवसरमै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का विदेशमन्त्रीहरुको बैठकसमेत आयोजना भएको छ ।
नेपालकै पहलमा भएको बैठकमा सार्क मुलुकका विदेशमन्त्रीहरुले क्षेत्रीय सम्बन्ध, सार्कको भविष्य र आवश्यकताका बारेमा चर्चा गरेका थिए । रोचक पक्ष त यो छ कि, भारत र पाकिस्तानका विदेशमन्त्री उक्त बैठकमा सहभागी भए पनि आमने–सामने भएनन् ।
समाचार एजेन्सीहरुका अनुसार भारतका विदेशमन्त्री एस जयशंकर बैठकको प्रारम्भमा उपस्थित थिए । उनले बैठकमा आफ्ना धारणा राख्दा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसी भने उपस्थित थिएनन् ।
आफ्ना धारणा राखेर भारतीय विदेशमन्त्री जयशंकर बैठकस्थलबाट बाहिरिएपछि पाकिस्तानी विदेशमन्त्री बैठक कक्षमा प्रवेश गरेका थिए ।
कुरेसीका अनुसार भारतले कश्मीरमा लगाएको विभिन्न प्रतिबन्ध अन्त्य नगरेसम्म भारतसँग कुनै प्रकारको सम्पर्क नगर्ने नीतिअनुसार सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भारतीय विदेशमन्त्रीको उपस्थितिलाई पाकिस्तानले वहिष्कार गरेको हो ।
‘भारतले कश्मीरका नागरिकको मानवअधिकार रक्षा गर्नु पर्छ, उनीहरुको संरक्षण सुनिश्चित गर्नुपर्छ, उनीहरुमाथि हुँदै आएको दमन र शोषण बन्द गरिनुपर्छ,’ पाकिस्तानका विदेशमन्त्री कुरेसीले भने ।
पाकिस्तानी विदेशमन्त्रीले सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भारतीय विदेशमन्त्रीको उपस्थिति वहिष्कार गरेकोबारे मिडियाले भारतीय विदेशमन्त्रीसँग प्रतिक्रिया सोधेका थिए । भारतीय विदेशमन्त्री जयशंकरले यसबारे केही प्रतिक्रिया दिएनन् ।
पाकिस्तानी विदेशमन्त्रीलाई यसै विषयमा आधारित रहेर सञ्चारकर्मीले प्रतिक्रिया सोधेका थिए । उनले भने, ‘कश्मीर मामलामा विरोधस्वरुप भारतीय मन्त्रीसँग हामी बस्न नचाहेका हौं ।’(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्