३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


ठूला आयोजना शिलान्यास सरकारको कर्मकाण्डी


0
Shares

काठमाडौं, चैत ११ । महत्वकांक्षी आयोजनाहरु लथालिङ्ग अवस्थामा रहेका बेला सरकारले ५ वटा ठूला औद्योगिक क्षेत्रको शिलान्यास गरेको छ ।

प्रधानमन्त्रीले आफैले उद्घाटन गरेका सुरुङ्गमार्ग लगायतका ठुला आयोजनाको प्रगति न्युन रहेका बेला कञ्चनपुरको दैजी, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप, र झापाको दमकमा ठूला औद्योगिक क्षेत्र निर्मणको शिलान्यास गरिएको हो ।

चितवनको शक्तिखोरमा भने छिट्टै शुरुवात गर्ने सरकारको तयारी छ ।

सरकारकै महत्वकांक्षी योजनामा परेको विषेश आर्थिक क्षेत्र (सेज) लगभग विफल नै भइसेको अवस्थामा अन्य औद्योगिक क्षेत्र शिलान्यासले भोलीका दिनमा अर्बाैं लगानी हुने तर प्रतिफल शुन्यको अवस्था दोहोरिनेमा सम्बधित क्षेत्रका विज्ञ चिन्ता व्यक्त गर्छन ।

तर दुई वर्ष भित्र उद्योग स्थापना गर्ने र ५ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गुरु योजनाका साथ अगाडि बढेकाले सेजको जस्तो अवस्था नहुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत दाबी गर्नु हुन्छ ।

मुलुकलाई औद्योगिककरण गर्ने र लाखौं मानिसलाई रोजगारी श्रृजना गर्ने उद्देश्य भनिए पनि सरकारकै प्राथमिकतामा परेका आयोजनामा देखिएको कार्य प्रगतिले हेर्दा भने उत्साहित हुने ठाउँ भने देखिदैन ।

अर्थविद् केशव आचार्य यो कुनै उत्साहको कार्य नभई सरकारको कर्मकाण्डी मात्र भएको बताउनु हुन्छ ।

मुलुकभित्रै रोजगारी श्रृजना गर्ने हेतुले २०१६ सालमा औद्योगिक क्षेत्रको अवधारणा अघि सारिएकोमा अहिले सम्म नौ वटा औद्योगिक क्षेत्र पूर्ण रुपमा संचालनमा छन् ।

राजविराज बाहेक अन्य नौ औद्योगिक क्षेत्रमा सामान्य खालका बाहेक अन्य समस्या नरहेको औद्योगिक व्यवस्थापन लिमिटेडको भनाई छ ।

सरकारी दाबीलाई आधार मान्ने हो भने मुलुक पुरै औद्योगिककरणमा गइसक्नु पर्ने हो तर अवस्था दयनिय नै छ ।

साना तथा मझौला उद्योग बाहेक ठुला उद्योगको भने खडेरी नै छ । तर मुलुक अब औद्योगिक रुपमा अघि बढ्ने भन्दै औद्योगिक व्यवस्थापना क्षेत्रमा उद्योगीलाई पाँच वर्ष सम्म भाडा नलिने सरकारको योजना रहेको छ ।

मयूरधाप, नौबस्ता र दैजी औद्योगिक क्षेत्र सरकारकै लगानीमा निर्माण गर्ने सरकारको योजना छ भने मोतिपुर र शक्तिखोर औद्योगिक क्षेत्रका लागि विदेशी लगानी खोजिने छ ।

झापाको दमक औद्योगिक क्षेत्र भने पिपिपि मोडलमा बनाइने बस्नेतले बताउनुभयो ।